मतगणना : कहाँ के हुँदै छ ?

काठमाण्डु टुडे २०७० मंसिर ५ गते ४:५५ मा प्रकाशित

Nirbachan-Aayogकाठमाण्डु, ५ मंसिर– मंगलबार सम्पन्न संविधानसभा निर्वाचनको मतगणना बिभिन्न जिल्लामा बुधबार विहानबाट जारी छ । मतपरिणामबारे चासो राख्नेहरुको मतगणना स्थल वरपर भीडभाड छ ।

काठमाण्डुको मतगणना अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा जारी छ । काठमाण्डु क्षेत्र नम्बर १, २, ४, ७, ८ र १० को मतगणना जारी छ । मत परिणामबारे जानकारी दिन त्यहाँ ठूलो डिजिटल डिस्प्ले बोर्ड राखिएको छ ।

काठमाण्डु १ मा उम्मेदवारी दिएकामध्ये काँग्रेस महामन्त्री प्रकाशमान सिंह र एमाओवादीकी रेणु दाहालप्रति सबैको चासो छ । सर्बोच्च नेता गणेशमान सिंहका छोरा प्रकाशमान अघिल्लो संविधानसभा निर्वाचनमा विजयी भएका थिए । अहिले प्रचण्ड पुत्री रेणु पनि सोही क्षेत्रबाट चुनाव लडेकाले धेरैको ध्यान त्यसैतर्फ तानिएको छ । एमालेकी विद्या न्यौपाने पनि सोही क्षेत्रबाट चुनाव लडेकी छन् ।

काठमाण्डु क्षेत्र नम्बर १० मा एमाओवादी अध्यक्ष प्रचण्डले उम्मेदवारी दिएका छन् । उनको क्षेत्रमा पनि राष्ट्रिय अन्तराष्ट्रिय चासो छ ।

काठमाण्डुको अर्को चर्चित क्षेत्र हो क्षेत्र नम्बर ४ । काठमाण्डु ४ बाट एमाओवादी युवा नेता नन्द किशोर पुन पासाङ, काँग्रेसका नेता गगन थापा र एमालेका निर्मल कुइँकेलले उम्मेदवारी दिएका छन् । अघिल्लो चुनावबाट काँग्रेसबाट विजयी सुप्रभा घिमिरेले अहिले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएकाले यसपाली गगनको भोट काटिने अवस्था देखिएको छ ।

काठमाण्डु क्षेत्र नम्बर २ पनि चर्चित छ । किनकी सो क्षेत्रमा एमाले नेता माधव कुमार नेपालले उम्मेदवारी दिएका छन् । अघिल्लो चुनावमा एमाओवादीका झक्कु सुवेदीबाट पराजित नेपालको यसपाली एमाओवादीका लिलामणि पोख्रेलसँग प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

भक्तपुर क्षेत्र नम्बर २ को मतगणना सानोथिमिस्थित शैक्षिक जनशक्ति विकास केन्द्रमा भैरहेको छ । क्षेत्र नम्बर १ को मत गणना भने शुरु भएको छैन । मतगणना अघि बसेको सर्वदलीय बैठकले सदर र बदर मतको मापदण्ड तय गर्न नसकेपछि मतगणनामा ढिलाइ भएको हो ।

ललितपुरको मतगणना स्टाफ कलेज जावलाखेलमा शुरु भएको छ ।

तनहुँ क्षेत्रनम्बर १ को मतगणना पनि अहिले जारी छ ।

मोरङका ९ वटै निर्वाचन क्षेत्रको मतगणना भैरहेको छ ।

कपिलवस्तुका  ५ वटै क्षेत्रको मतगणना शुरु भएको छ ।

बर्दिया क्षेत्र नम्बर २ को पनि मतगणना शुरु भएको छ ।

मकवानपुरमा साँझ ५ बजेदेखि मतगणना कार्य सुरु गरिने मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।

अधिकांश सुगम जिल्लामा बुधबारबाट मतगणना हुने भए पनि हिमाली र पहाडीका दुर्गम जिल्लामा भने मतपेटिका जिल्ला सदरमुकाम लैजाने क्रम जारी छ ।

प्रत्यक्षतर्फको मतगणनाको सबै परिणाम एकसाता भित्र आउने आयोगले जनाएको छ ।

संविधानसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ २४० र समानुपातिकतर्फ ३३५ सिटका लागि हिजो मतदान भएको थियो । यसपटकको मतदान मुलुककै सर्वाधिक जनताको सहभागितामा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार यसपाली ७० प्रतिशत मत खसेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us