विप्लवले लिए विस्फोट र आगजनीको जिम्मेवारी

काठमाण्डु टुडे २०७० मंसिर ४ गते १५:४३ मा प्रकाशित

काठमाण्डु, ४ मंसिर– निर्वाचन बहिस्कारको घोषणा गरेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मुलुकका विभिन्न Biplab 2स्थानमा भएका विस्फोट र आगजनीमा आफूहरुको संलग्नता रहेको स्वीकार गरेका छन् ।
बीबीसी नेपाली सेवाका लागि रवीन्द्र मिश्रसँग मंगलबार राति कुरा गर्दै चन्दले घटनामा आफूहरुको संलग्नता रहेको घुमाउरो पारामा स्वीकारे । ‘जनताले प्रतिरोध गरेका हुन्, हामीले स्वीकार गर्ने, सहमति दिने कुरा सही हो’, मिश्रको एक प्रश्नमा विप्लवले भने, हामीले मात्र गरेको होइन ।’

जनताले चारदलीय निरंकुशताबाट लादिएको निर्वाचन एतिहासिक र अभूतपूर्व रुपले बहिस्कार गरेको जिकिर गरे । ‘जनताले चार दलीय निरंकुशतावादीहरुको षड्यन्त्रलाई असफल पार्न सघाए’, उनले भने, ‘जनताको  यो साथ र सहयोगबाट हामी खुसी छौं ।’

उनले आफूहरुले अनुमान गरेभन्दा शानदार ढंगले जनताले निर्वाचनको प्रतिवाद र बहिस्कार गरेको तथा मतदानमा न्यून मतदाता सहभागी रहेको दाबी गरे । मिश्रले ६५ प्रतिशतभन्दा बढी मतदाता सहभागी भएको निर्वाचनलाई कसरी असफल भन्न मिल्छ ? भन्ने प्रश्न गरेपछि उनले आफूहरुको समेत सहमतिमा निर्वाचन भएको भए ७५ प्रतिशत मतदान हुनसक्ने जवाफ दिए ।

‘अहिलेको नेपालको परिप्रेक्ष्यमा ६५ प्रतिशत मत खस्नु न्यून हो’, विप्लवले भने, ‘हामीले सहमति र सहकार्य गरेको भए ७५ पुग्थ्यो होला ।’ अर्को एक प्रसंगमा उनले आफू भूमिगष्त नभई जनताकै बीचमा रहेको र भूमिगत भन्ने शब्द नै मन नपर्ने टिप्पणी गरे ।

उनले आफूहरुको आन्दोलन नयाँ मोडमा प्रवेश गरेको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us