
काठमाण्डु, १ मंसिर– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यसपटकको निर्वाचनमा पराजित हुने दाबी गरेका छन् ।
काठमाण्डुको कीर्तिपुरमा शनिबार भएको चुनावी सभालाई सम्बोधन गर्दै नेपालले प्रचण्डलाई पराजित गर्न मतदातालाई आग्रह गरे ।
नेपालले प्रचण्डले काठमाण्डु–१० बाट उम्मेदवारी दिएर गल्ती गरेको टिप्पणी गरे । प्रचण्डको काठमाण्डु–१० सँग कुनै साइनो नरहेको नेपालको भनाइ थियो । ‘प्रचण्डजीको काठमाण्डु–१० सँग कुनै साइनो छैन, उहाँ यहाँ नउठेको भए हुन्थ्यो’, नेपालले भने, ‘उहाँले यसपटक हार्दै हुनुहुन्छ ।’
उनले गत निर्वाचनमा जितेर पनि काठमाण्डु–१० को विकासमा केही नगरेकाले मतदाताले दण्डित गर्ने जिकिर गरे । एकीकृत माओवादी देश टुक्र्याउन र सामाजिक सद्भाव बिथोल्न उद्धत रहेकाले देशभरबाट उसलाई पराजित गर्न मतदातालाई अपिल गरे ।