गोर्खा सैनिकहरुको अनशन ९ दिनदेखि जारी

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते ९:४४ मा प्रकाशित

gurkha in uk- anasanकाठमाण्डु– बेलायत सरकारले आफ्ना माग पुरा नगरेको भन्दै भूतपूर्व गोर्खा सैनिकहरुले ९ दिनदेखि गरिरहेको आमरण अनशन शुक्रबार पनि जारी राखेका छन । उनीहरुले बेलायतमा आमरण अनसन र नेपालमा रिले अनसन जारी राखेका हुन् ।

आफूहरुलाई बेलायतले भाडाका सिपाहीका रुपमा प्रयोग गरेको भन्दै यसको अन्त्यका लागि ५ सूत्रीय मागसहित उनीहरु अनसनमा बसेका हुन् । ‘समान कामका लागि समान ज्याला र समान व्यवहार’ हुनुपर्ने मुल मागका साथ ब्रिटिस गोर्खा सत्याग्रह संघर्ष समितिले अनशन बसेर दबाब दिइरहेको हो ।

बेलायतमा आमरण अनसन तोडाउने प्रयासहरु भइरहेपनि माग पूरा नहुन्जेलसम्म आमरण अनसन जारी राख्ने संघर्ष समितिका प्रवक्ता हिमाल राईले बाएका छन् । उनले भने, ‘बेलायतमा वकिलहरु, विभिन्न विपक्षी नेताहरु र स्थानीय प्रशासनले अनशन तोडाउने प्रयास गरेका छन् तर हामीले पार्लियामन्टमा मागको सम्बोधन गर्न कमिटी बनाउनुस् भनेर अनशन जारी राखेका छौं ।’

सरकारलाई दबाब

नेपालमा भइरहेको रिले अनशनमा पनि विभिन्न दलहरुले ऐक्यवद्धता जनाएको र उनीहरुले सरकारलाई यसबारे ध्यानाकर्षण गराएर लेखेको पत्र मुख्यसचिव लिलामणी पौडेललाई शुक्रबार बुझाएको प्रवक्ता राईले जनाए । तयस्तै शुक्रबारै मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई भेटी बेलायतमा अनशन बसिरहेका नेपाली गोर्खाहरुको अवस्था तत्काल सार्वजनिक गर्न दबाब दिएको उनले बताए ।

बेलायती सैनिक सरह सेवा(सुविधामा, समान पेन्सन, जगेडा पेन्सन, क्षतिपुर्ति, स्वास्थ्य उपचार सेवा, १८ वर्षमाथिका छोराछोरीलई पनि बेलायतमा आवसीय भिषा लगायतका माग राख्दै भूतपूर्व गोर्खा सैनिकहरु आन्दोलनमा उत्रिएका हुन् । बेलायत र नेपालमा जारी भूपू गोर्खा सैनिकको आन्दोलनबारे सुनुवाई हुन नसक्दा उनीहरु थप शसक्त आन्दोलन गर्ने मनसायमा पुगेका छन् ।

बेलायतमा सुरु भएको आमरण अनशनको समर्थनमा काठमाडौंको लैनचौरस्थित बेलायती दुतावास अगाडि पनि आन्दोलनकारीले रिले अनशन जारी राखेका छन् । आफूहरुका माग पूरा नहुँदासम्म आमरण अनशन र रिले अनशन हरेक दिन बिहान ७ देखि बेलुका ७ बजेसम्म अनिश्चित कालसम्म जारी रहने गोर्खा सत्याग्रह संघर्ष समितिका संयोजक एलबी घिसिङले जानकारी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us