‘मार्न खोज्नेले पनि राष्ट्रको नेता स्वीकारे’

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते ४:३३ मा प्रकाशित

prachanda 2काठमाण्डु, २८ कात्तिक– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई भौतिकरुपले सिध्याउने खेल भैरहेको आशंका गरेका छन् । युद्धकालमा पनि हत्याको योजना भएको चर्चा गर्दै उनले आफूविरुद्ध भैरहेका षडयन्त्र नौलो नलागेको बताए । भौतिक रुपमा सिध्याउन खोज्नेले पनि आफूलाई राष्ट्रको नेता स्वीकारेको प्रचण्डको भनाइ छ ।

‘मैले आर्थिक समृद्धि, पहिचान र अधिकार सहितको संविधानको मिसन बनाएको छु । यो मिसनमा जाँदा मरिन्छ, बाँचिन्छ, आलोचना हुन्छ भने पनि म बिचलित हुँदैन,’ एभिन्युज टेलिभिजनलाई विहीबार विहान अन्तरवार्ता दिदै प्रचण्डले भने, ‘माओवादी भनेकै यही हो ।’ कन्चनपुरको ढक्कापुरमा बुधबार आफूलाई लक्षित गरी गराइएको धराप विष्फोटबारे प्रतिकृया दिदै प्रचण्डले भने, ‘मलाई नै ताकेर माइनिङ गरिएको छ । त्यसले गाडी नै उड्थ्यो । त्यो धेरै गम्भीर घटना हो । भौतिक रुपमा मलाई सिध्याउन खोज्नेले राष्ट्रको नेता स्वीकारेका छन् ।’

तपाई प्रति नै त्यो बिष्फोट लक्षित थियो ? भन्ने प्रश्नको जवाफमा प्रचण्डले भने, ‘अरु के हुन सक्छ, हाम्रा युवाहरुको मोटरसाइकल स्कर्टिङ र सुरक्षाकर्मीको अलर्ट थियो, त्यसैले उनीहरु हडबडाए । समय मिलाउन सकेनन्, हामी पुग्नु भन्दा पहिले नै बिष्फोट भयो र क्षति हुन पाएन । ।’

धराप विष्फोटमा कस्को हात थियो भन्ने कुरा उनले खुलाएनन् । ‘म नाम किटेर भन्दिन । त्यो गराउने हामीबाट अलग भएका हुन् वा अरु बिपक्षी हुन् सरकारले पत्ता लगाउने कुरा हो,’ प्रचण्डले भने ।

उनले त्यसलाई भ्रत्र्सनायोग्य र शान्ति, संविधान तथा सम्वृद्ध राष्ट्र बनाउने योजना तुहाउन भैरहेको षडयन्त्रको संज्ञा दिए । यस्ता गतिविधिले राष्ट्रलाई झन् पछि धकेल्ने र आम नेपाली जनतालाई सैह्य नहुने उनको भनाइ थियो ।

वैद्य गतिविधि : यान्त्रिक नक्कलको भद्दा नमुना

संविधानसभा चुनावविरुद्ध वैद्य माओवादीको आन्दोलनलाई उनले जनताको सार्वभौम अधिकार माथिको हमला भएको टिप्पणी गरे । संविधानसभा मार्फत् पहिचान र अधिकारको संविधान बनाउने आफ्नै एजेण्डा विरुद्ध आन्दोलन गरेर वैद्य माओवादीले गल्ती गरेको प्रचण्डको भनाइ छ । ‘संविधानसभाबाट पहिचान र अधिकार सहितको अग्रगामी संविधान बनाउने आफ्नै एजेण्डा विरुद्ध गएर साथीहरुले गल्ती गर्नुभयो । यो विल्कुल मिलेन । उहाँहरुले चुनाव बहिस्कार होइन । जनताले उहाँहरुलाई बहिस्कार गरिराछ ।’

चुनाव बहिस्कारको नाममा वैद्य माओवादीले गर्दै आएको गतिविधिलाई उनले यान्त्रिक नक्कलको भद्दा नमुनाको संज्ञासमेत दिए । ‘उहाँहरुले ठोस विषय बस्तुको ठोस विश्लेषण गर्नुभएको छैन । २२ बर्षअघि प्रचण्डले जे–जे गरेको थियो, अहिले त्यही–त्यही गरिरहनु भाछ । यो यान्त्रिक नक्कलको भद्दा नमुना भन्दा अरु केही होइन,’ प्रचण्डले भने ।

prachanda_communist_fistप्रचण्ड, बाबुराम र नारायणकाजीले निकाले १६८ सीट जित्ने हिसाब

मेची–महाकाली अभियानको क्रममा आफूले सुक्ष्म तरिकाले जनताको भावना बुझेको दावी गर्दै प्रचण्डले आगामी चुनावमा १५५ देखि १६८ सीट आउने दावी गरे । ‘हेटौडामा बसेर मैले, बाबुराम जीले र नारायणकाजी श्रेष्ठ (प्रकाश)जी बसेर हिसाब गर्यौं । १५५ देखि १६८ सिट आउँछ,’ प्रचण्डले भने, ‘त्यो हामीले सोंची सम्झेर निकालेको हिसाब हो । समानुपातिकको संख्या जोड्दा हाम्रो बहुमत पुग्छ ।’

उनले स्थीर सरकार नभइ देश विकास नहुने भएकाले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको एजेण्डा अघि सारेको जानकारी पनि दिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us