साना दलका कारण ठूला दललाई चुनौती

काठमाण्डु टुडे २०७० कार्तिक १३ गते १:२९ मा प्रकाशित

कञ्चनपुर, १३ कात्तिक–संविधानसभाको निर्वाचनमा साना दलहरुतर्फ मतको धुव्रीकरण हुन थालेपछि कञ्चनपुरका चारवटै निर्वाचन क्षेत्रमा ठूला दलहरुलाई चुनौती थपिएको छ । एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस, नेकपा (एमाले) लगायतका दललाई चुनौती देखिएको हो ।

कन्चनपुरका सहर उन्मुख क्षेत्रमा ठूला दलहरुबीच नै कडा प्रतिस्पर्धा देखिए पनि ग्रामीण क्षेत्रमा साना दलहरुतर्फ मतको धुव्रीकरण भएका कारण कसले जित्ने भन्नेमा कौतुहलता थपिएको छ । राजनीतिक दलहरुले मतदातालाई आफूतर्फ आकर्षित गर्नका लागि घरदैलो र भेटघाटको कार्यलाई तीव्रता दिँदासमेत मतदाताले हालसम्म कुन दललाई मत दिने भन्नेबारे मौनता साधेका छन् ।

पिपलाडी गाविसका मनिराम चौधरीले खुलेरै एकीकृत माओवादीका उम्मेदवारलाई विगतको संविधानसभाको निर्वाचनमा मत हालेका थिए । उनी भन्छन्–“कुनै पनि दलले संविधान नबनाएकाले यस चुनावमा मतको कदर गर्ने दललाई मात्रै मत हाल्छु ।” हालसम्म कुन दललाई मत हाल्ने भन्नेबारे नसोचेको उनले बताए । सबै दलले विगतको संविधानसभामा झैं घोषणापत्रमा आकर्षक कुराहरु उल्लेख गरेका छन् तर यस पटकको चुनावमा गाउँमा सल्लाह गरेरै मत हाल्ने मनसाय बनाएको उनले सुनाए ।

प्रत्येक गाविसबाट कुनै न कुनै दलको उम्मेदवार भएकाले गाउँका मतदाताहरु स्थानीय उम्मेदवारलाई नै मत दिने मनस्थितिमा रहँदा ठूला दलले विगतका चुनावको जस्तो मत नपाउने नागरिक समाजका ललित हमालको धारणा छ । कुनै पनि दलप्रति विगतको जस्तो मतदाताको लहर नदेखिएकाले यस पटकको चुनावमा ठूला दललाई चुनौती देखिनुको प्रमुख कारण भएको उनको ठम्याइ छ । मतदातालाई आफूतर्फ आकर्षित गर्नका लागि ठूला दलहरुसँग चुनावी घोषणापत्रमा नौला कुराहरु नहुनु र विगतका कुराहरुलाई नै दोहर्याइएकाले दलहरुप्रति मतदाताको विकर्षण उत्पन्न भएको उनले बताए ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति कञ्चनपुरका सचिव भोजराज बोहराले भने विगतको संविधानसभाको निर्वाचनमा कन्चनपुरका चारवटै निर्वाचन क्षेत्रबाट विजयी भएर गएका सभासदले संविधान निर्माणका साथै उल्लेख्य विकासका कार्य गर्न सकेनन्, त्यसैले लामो समयसम्म प्रतिपक्षमा बसेको नेपाली काँग्रेसप्रति अहिले जनताको आशा जाग्न थालेको बताउँछन् । “पार्टीले ल्याएको एजेन्डाप्रति मतदाताहरु उत्साहित देखिएकाले चारवटै निर्वाचन क्षेत्रमा विजयी हुने आशा राखेका छौं”– आशावादी हुँदै उनले भने ।

उता, चुनावी मुद्दाका रुपमा कञ्चनपुरको विकासका लागि पञ्चवर्षीय, दसवर्षीय र बीस वर्षीय दीर्घकालीन योजनाहरु अघि सारेकाले जनताले साथ दिनेमा ढुक्क रहेको नेकपा (एमाले) कञ्चनपुरका सचिव सुरेन्द्र विष्टले बताए । एनेकपा (माओवादी)का चुनाव प्रचारप्रसार समितिका सदस्य वीरेन्द्रचन्द एमाले र नेपाली काँग्रेसको अडानका कारण विगतको संविधानसभा विघटन भएको भन्दै जनताले चाहेको एजेन्डा आफूहरुसँगै भएकाले यहाँका चारवटै निर्वाचन क्षेत्रमा विजयी हुने दावी गर्नछन् ।

संविधानसभाको निर्वाचनको प्रचारप्रसार र जनताको भावनालाई नजिकबाट नियाल्दै आएका शिक्षक शेरबहादुर भण्डारी भन्छन्–“पहिलाजस्तो ठूला राजनीतिक दललाई चुनावमा आ–आफ्ना उम्मेदवारलाई विजयी गराउन फलामको चिउरा चपाउनुसरह भएको छ । ठूला दलहरुमध्येको एनेकपा (माओवादी)लाई भने झनै चुनौती थपिएको छ ।”

निर्वाचन क्षेत्र नं ४ मा प्रमुख दलका उम्मेदवारहरुबीच नै कडा प्रतिस्पर्धा हुने देखिए पनि राप्रपाको यस क्षेत्रमा बलियो पकड भएका कारण ठूला दललाई चुनौती देखिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य धर्मराज जोशी, नेकपा (एमाले)का केन्द्रीय सदस्य उर्वादत्त पन्त, नेपाली काँग्रेसका नेता रमेश लेखक र एनेकपा (माओवादी)का मोहन गिरी चारैजना यस क्षेत्रका लागि प्रभावशाली मानिएका छन् । चारवटै दलबीच मतको धुव्रीकरण भएका कारण कडा प्रतिस्पर्धा देखिएको छ । कुन उम्मेदवारले जित्ने हुन् भन्नेबारे आँकलन गर्न सकिने अहिलेको अवस्था छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us