प्रथम विश्व युवा सम्मेलन काठमाण्डुमा जारी

काठमाण्डु टुडे २०७० कार्तिक १० गते १६:३८ मा प्रकाशित

काठमाण्डु–युवा वर्गमा रहेको क्षमतालाई एकीकृत गरी राष्ट्र विकासमा लगाउने उद्देश्यले आइतवारदेखि काठमाण्डुमा प्रथम विश्व युवा सम्मेलन सुरु भएको छ ।
मातृभूमिका लागि युवा अभियान नेपालले आयोजना गरेको सम्मेलनमा नेपालसहित विभिन्न ११ देशका युवा प्रतिनिधिको सहभागिता रहेको छ । सोमबारसम्म चल्ने उक्त सम्मेलनले देश तथा विदेशमा रहेका युवाका विविध समस्या र अवसरबारे छलफल गरी भावी रणनीति बनाउने छ ।
सम्मेलनको एमाओवादीका युवा नेता हिमाल शर्मा,नेकपा (एमाले) का युवा नेता योगेश भट्टराई र अभियानका अध्यक्ष सुनिल खड्काले संयुक्त रूपमा उद्घाटन गरेका छन ।
सो अवसरमा एमाओवादी नेता हिमाल शर्माले अहिलेको सङ्क्रमणकालीन राजनीति र अन्योलपूर्ण आर्थिक अवस्थाले गर्दा मुलुकका ऊर्जावान युवा विदेश पलायन हुन बाध्य भइरहेको भन्दै आम युवामा सोच्ने शैलीमा परिवर्तन ल्याउन सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गरे । उनले संविधानसभाको निर्वाचनले नै सङ्क्रमणको चाँडो निकास दिने भएकाले यसलाई सफल पार्न सबैको ध्यान जानुपर्नेमा जोड दिए ।
एमाले नेता भट्टराईले युवामा भएको सीप र क्षमतालाई एकीकृत गरी मातृभूमिमा समर्पण गर्न तथा विश्वमा नेपाली पहिचान बोकेका नेपालीहरूमा मातृभूमिप्रति दायित्वबोध गराउन सम्मेलन उपयोगी हुने बताए । उनले अहिले संविधानसभा निर्वाचनको सङ्घारमा रहेको मुलुकलाई संविधानसभाबाट ठीक ढङ्गले अघि बढाउन नसकिए मुलुक अतिवादको चपेटामा पर्ने खतरा औँल्याए ।
यस्तै पर्यटनविद् कर्ण शाक्यले जैविक र भौगोलिक विविधताले भरिएको मुलुकमा स्रोत र साधनको सही सदुपयोग हुन नसक्दा नेपाल कमजोर बन्दै गएको र युवा शक्ति विदेश पलायन भइरहेको बताए ।
अभियानका अध्यक्ष सुनिल खड्काले देश तथा विदेशमा रहेका युवाका सीप र क्षमतालाई एकीकृत गरी मातृभूमिमा रहेको प्रचुर सम्भावनालाई सामाजिक एवम् आर्थिक रूपान्तरणमा परिचालन गर्ने रणनीति तय गर्न आयोजना गरिएको बताए ।
सम्मेलनले अभियानलाई परिष्कृत र योजनाबद्ध रूपमा अगाडि बढाई सम्मेलनको छ महिनाभित्र देश तथा विदेशमा साङ्गठनिक अभियान सञ्चालन गरिने सम्मेलनका संयोजक कर्ण बोहराले बताए ।
कार्यक्रममा चर्चित कलाकार कुन्ती मोक्तान, शिशिर योगी, रामकृष्ण ढकाल, धिरज राई र मनोज गजुरेलले आफ्नो प्रस्तुतिद्वारा मनोरञ्जन दिलाएका थिए । हाल विश्वका ११ देश र नेपालका ११ जिल्लामा शाखा विस्तार भएको अभियानमा ५० हजार सदस्य रहेको संस्थाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us