कैलालीमा करारका कर्मचारीले कुटे ल्याब इन्चार्ज, भिडियो सार्वजनिक भएपछि पक्राउ

काठमाण्डु टुडे २०८३ असार २५ गते १३:२१ मा प्रकाशित

काठमाण्डू, २५ असार– कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेपछि करार सेवामा कार्यरत फिजियो थेरापिस्टलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फिजियो थेरापिस्ट अनिल तिवारी रहेको प्रहरीले जनाएको छ ।

तिवारीले ल्याब इन्चार्ज उमेश बजगाईँमाथि अस्पतालभित्रै कुटपिट गरेको सीसीटीभी फुटेज सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । आफूमाथि कुटपिट गर्ने तिवारीलाई कारबाही गर्नुपर्ने माग गर्दै बजगाईंले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रेमकुमार राईलाई निवेदन दिएका थिए ।

सोही निवेदनमा टिकेर अस्पतालले इलाका प्रहरी कार्यालयमा कारबाहीको माग गर्दै निवेदन दिएपछि उनलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । स्रोतकाअनुसार मधेश प्रदेश घर भएका तिवारी ०७२ सालतिर नेपाली कांग्रेसका रतन खड्का अस्पताल व्यवस्थापन समिति अध्यक्ष भएका बेला ज्यालादारी काम गर्ने गरी थेरापी विभागमा राखिएका थिए । ०७६ तिर उनी करार सेवामा राखिएका थिए ।

सोही बेलादेखि उनी अस्पतालभित्र राजनीतिक पहुँचका आधारमा हैकम चलाउँदै आएका थिए । टीकापुर अस्पतालले केही दिनअघि ल्याब सम्बन्धीका सामान खरिद गरेको थियो । त्यसमा ल्याब इन्चार्जसहितलाई आर्थिक अनियमितताको आरोप लगाएर तिवारीले मेसुलाई उजुरी दिएका थिए ।

सोही विषयमा सोमबार दिउँसो तिवारीकै कार्यकक्षमा छलफल भइरहेका बेला उनले सुरुमा बजगाईं र मेसु राईमाथि अपमानजनक शब्द प्रयोग गरी दुर्व्यवहार गरेको स्रोत बताउँछ ।

आफूसँग बिना कारण निहुँ खोज्न भन्दै बजगाईं आफ्नो कार्यकक्षतिर गएका थिए । सोही क्रममा तिवारीले उनीमाथि कुटपिट गरेका थिए ।

विवादको विषय नखुलाए पनि तिवारीले मेसुकै अगाडि आफूलाई गालीगलौज र दुर्व्यवहार गरेपछि त्यहाँबाट कार्यकक्षतिर निस्किएको बताए । तिवारीले त्यहीँ आएर कुटपिट गरेका उनी बताउँछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us