काठमाण्डू, २५ असार– प्रतिपक्षी दल कांग्रेसले सुकुम्बासीहरूलाई आश्रयस्थल खाली गर्न सरकारले दिएको अल्टिमेटम फिर्ता लिन माग गरेको छ । आज (बिहिबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसकी सांसद हरिना देवी कामीले सरकारले उपलब्ध गराएको रकमले सुकुम्बासी परिवारलाई अपुग हुने बताएकी छन ।
उनले भनिन्, ‘३८८ सुकुम्बासी परिवारलाई कुनै वैकल्पिक व्यवस्थाबिनै ५ दिनभित्र आश्रयस्थल खाली गर्न दिएको निर्णय केबल प्रशासनिक निर्णय मात्र होइन, मानव संवेदनामाथिको प्रहार हो ।
सरकारले २५ हजार एकमुष्ट र ३ महिनासम्म मासिक १५ हजारका दरले दिने आश्वासनलाई समाधानको रूपमा प्रस्तुत गरेको छ तर यो महँगीमा १५ हजार लिएर ती परिवार कहाँ जाने ?’ उनले भनिन् ।
सुकुम्बासीहरूले हामी कहाँ जाने भनेर प्रश्न गरिरहेको पनि उनले बताइन् । राज्यले नागरिकलाई सडकतर्फ धकेल्न खोजेको उनले आरोप समेत लगाएकी छन ।
‘कतिपय सुकुम्बासी अझै राज्यको सूचीमा छैनन्, उनीहरूले कसरी न्याय पाउने रु विकासको नाममा नागरिकलाई विस्थापित गर्न सकिँदैन, घरबारविहीन गर्न पाइँदैन । ५ दिनभित्र आश्रय खाली गर्न दिएको अल्टिमेटम फिर्ता लिइयोस्,’ उनले भनिन् ।