काठमाण्डू, १२ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारीका लागि मतदान सुरु भएको छ । पदाधिकारीमा ५ पदका लागि मतदान हुन लागेको हो । सभापति र उपसभापति निर्विरोध निर्वाचित भइसकेको छ ।
उपसभापति, महामन्त्री, सहमहामन्त्री गरेर ५ पदका लागि मतदान हुन लागेको हो । यसैबीच उम्मेदवारी घोषणा गरेका नेताहरूले धमाधम फिर्ता पनि लिने क्रम पनि जारी छ ।
उपसभापतिमा सोबिता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुँदैछ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम सूची अनुसार, महामन्त्रीमा ५ जनाबीच प्रतिस्पर्धा हुँदैछ । मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, सागर ढकाल र विपिन कुमार आचार्यको नाम अन्तिम सूचीमा छ ।
यद्यपि रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी गराइसकेकी छिन् । निर्वाचन आयोग स्रोतका अनुसार, उनले उम्मेदवारी फिर्ताको घोषणा अन्तिम नामावली घोषणापछि गरेकी हुन् । त्यसकारण उनको उम्मेदवारी भने सूचीमा कायमै रहेको र मत हाल्नका लागि तयार पारिएको विद्युतीय मेसिनमा पनि उनको नाम समावेश भएको छ ।
‘उहाँले अन्तिम सूची सार्वजनिक भइसकेपछिमात्रै फिर्ता लिएको जानकारी गराउनुभयो, त्यही भएर उहाँको नाम महामन्त्रीकै उम्मेदवारको सूचीमा छ,’ निर्वाचन आयोग स्रोतले भन्यो ।