काठमाण्डू, ५ असार– स्वीट्जरल्यान्डमा आज (शुक्रबार) हुने भनिएको अमेरिका–इरानबीच हुने भनिएको बहुप्रतीक्षित शान्ति सम्झौता स्थगित भएको छ ।
स्वीट्जरल्यान्डमा हुने भनिएको शान्ति सम्झौता समारोह अनितम समयमा स्थगित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘सीएनएन–न्युज १८’ ले समारोहमा सहभागी हुन कुनै पनि उच्चस्तरीय अमेरिकी वा इरानी अधिकारी स्वीट्जरल्यान्ड नजाने जनाएको छ ।
‘सीएनएन–न्युज १८’ ले कूटनीतिक स्रोतको हवाला दिँदै अब प्रक्रिया औपचारिक हस्ताक्षरभन्दा प्राविधिक तहका लामो वार्तातर्फ मोडिएको जनाएको छ । अमेरिका, इरान, कतार र पाकिस्तानका अग्रिम टोलीहरू हाल स्वीट्जरल्यान्डका ब्युर्गेनस्टक र ज्युरिखमा रहेर वार्ताको नयाँ ढाँचा व्यवस्थापन गरिरहेका छन् ।
स्रोतहरूका अनुसार सम्झौताका बाँकी जटिल तथा प्राविधिक विषयमा सहमति जुटाउन आगामी ६० दिनसम्म विभिन्न चरणमा प्राविधिक वार्ता सञ्चालन हुनेछ ।
ती छलफलहरूमा सम्झौताका सूक्ष्म तथा बाँकी रहेका विषयहरू टुंग्याउने प्रयास गरिने बताइएको छ । शान्ति सम्झौताका लागि गरिएको तयारीमा भएको अप्रत्याशित परिवर्तनले पाकिस्तानको आधिकारिक भ्रमण तालिकामा पनि असर पारेको समाचारमा उल्लेख छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले स्वीट्जरल्यान्ड भ्रमण रद्द गरेको बताइएको छ ।