काठमाण्डू, ३१ जेठ– कांग्रेसका पूर्वमहामन्त्री डा. सशांक कोइरालाले कांग्रेस हाल अत्यन्त कमजोर अवस्थामा पुगेको बताउँदै पार्टी एकता गर्नुपर्ने बताएका छन । पार्टी दुई टुक्रा भएको भन्दै उनले एक मात्र विकल्प एकता रहेको समेत बताएका छन ।
आज (आइतबार) कांग्रेस इतर समूहले विराटनगरमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै कांग्रेस नेता कोइरालाले एकताका लागि दुवै पक्ष मिल्नु पर्ने समेत बताएका छन ।
लामो समयपछि आज विराटनगरस्थित कोइराला निवास पुगेको स्मरण गर्दै डा. कोइरालाले बीपीले जनताका लागि राजनीति गरेको सम्झिए । ‘विपीले आफ्नो लागि होइन, जनताका लागि पार्टी बनाउनुभएको हो, उनले भने,’ आज हामीले सोच्नुपर्ने बेला आएको छ—हामी कसका लागि राजनीति गर्दैछौँ ?’ नेता कोइरालाले ०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मुलुकले विकास र परिवर्तनको ठूलो फड्को मारेको चर्चा गर्दै अहिले नेतृत्वले बाटो बिराएको समेत बताएका छन ।
गगन थापाको कार्यशैलीप्रति लक्षित गर्दै कोइरालाले भने , ‘के उहाँ एक्लैले पार्टी चलाउन सक्नुहुन्छ ? सबै नेताहरूलाई एकातिर पन्छाएर एक्लै हिँड्न खोज्नु भ्रम मात्रै हो ।’ उनले आधुनिकीकरण र परिवर्तनका कुरा गर्नेले सबैभन्दा पहिले आफूभित्र परिवर्तन ल्याउनुपर्ने बताए ।
पार्टीभित्रको आन्तरिक कलह र विभाजनलाई ‘दुर्भाग्यपूर्ण’ भन्दै कोइरालाले ८० वर्षको इतिहास बोकेको पार्टी फुट्दा लोकतन्त्र र राष्ट्रमै नकारात्मक असर परेको बताए । अदालतले गगन थापालाई आधिकारिक सभापति घोषणा गरेको सन्दर्भलाई संकेत गर्दै उनले भने, ‘सर्वोच्च अदालतको त्यो निर्णय गलत थियो, जसको सजाय आज हामीले भोगिरहेका छौँ ।’
कांग्रेस अहिले खुम्चिएर दोस्रो पार्टी बनेकोमा दुःख व्यक्त गर्दै उनले गाउँ–गाउँमा अझै पनि कांग्रेसको जनलहर रहेको दाबी गरे । ‘गाउँमा कांग्रेस नै कांग्रेस देखिन्छ, तर एकता नहुँदा भोट आएन,’ उनले भने,’संविधानको रक्षा र राष्ट्रको उज्ज्वल भविष्यका लागि कांग्रेस एक ढिक्का हुनुपर्छ ।’