काठमाण्डू, ३१ जेठ– काठमाण्डू महानगरपालिकाले सहरी योजना अन्तर्गत आवधिक, रणनीतिक तथा क्षेत्रगत योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउने तयारी गरेको छ ।
आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा यस्तो योजना उल्लेख छ । ‘विपद् व्यवस्थापनसँग सम्बन्धित सूचना तथा विवरणलाई भौगोलिक सूचना प्रणालीमा आबद्ध गरिनेछ ।
मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना स्वीकृत गरी कार्यान्वयनमा ल्याइनेछ,’ नीति तथा कार्यक्रममा छ, ‘मौसामजन्य विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारी तथा प्रतिकार्यलाई प्राथमिकतामा राखिने छ ।’
विद्यालय, अस्पताल, होटल, सपिङ मल, सार्वजनिक भवन तथा बहुउद्देश्यीय संरचनाको विपद् सुरक्षा मापदण्ड तर्जुमा गरी तिनको प्रभावकारी कार्यान्वयन, सुपरिवेक्षण तथा नियमित सुरक्षा परीक्षण कार्यक्रम सञ्चालन ल्याउने पनि महानगरपालिकाले जनाएको छ ।
‘सार्वजनिक–निजी साझेदारीमा सञ्चालित परियोजनाहरूको विस्तृत अध्ययन गरी आवश्यक सुधारका लागि सम्बद्ध पक्षसँग भएको सम्झौता पुनरावलोकन गरिने छ,’ नीति तथा कार्यक्रममा छ, ‘महानगरवासीको स्वच्छ पिउने पानीको हक प्राथमिकतामा राखी सहज, सुलभ र गुणस्तरीय पानी वितरणमा सम्बद्ध निकायसँग समन्वय र सहकार्य गरिने छ ।’
त्यस्तै निस्शुल्क पिउने पानी तथा सार्वजनिक शौचालयको अवधारणालाई निरन्तरता दिन थप स्थानमा खानेपानी बुथ तथा सार्वजनिक शौचालय निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।