गुल्मी जिल्ला प्रशासन कार्यालय अगाडि महिलाहरूको प्रदर्शन

काठमाण्डु टुडे २०८३ जेठ २२ गते १६:१८ मा प्रकाशित

काठमाण्डू, २२ जेठ– गुल्मीको इस्मा गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवर लगायतमाथि आक्रमण गर्न खोज्ने समूहमाथि कारबाहीको माग राख्दै विभिन्न संघसंगठनमा आवद्ध महिलाहरूले शुक्रबार प्रदर्शन गरेका छन ।

उक्त घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग राखेर उनीहरूले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय गुल्मी अगाडि प्रदर्शन गरेका हुन् ।

अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी), नेपाल महिला संघ तथा अखिल नेपाल महिला संघ गुल्मीमा आवद्ध महिलाहरूले प्रदर्शन गरेका हुन् । दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन, पीडितलाई न्याय दिन तथा महिला जनप्रतिनिधि र कर्मचारीको सुरक्षा सुनिश्चित गर्न उनीहरूले माग गरेका छन् ।

८ जेठमा मालिका गाउँपालिका–८ कुटी सिमलटारीमा आयोजित एक सत्संग कार्यक्रममा सहभागी हुन गएकी इस्मा गाउँपालिकाकी उपाध्यक्ष कुँवर सहित केही कर्मचारीमाथि योजनाबद्ध रूपमा आक्रमणको प्रयास भएको उनीहरूको आरोप रहेको छ ।

प्रदर्शनपछि महिला संगठनका प्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ज्ञापनपत्र समेत बुजाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us