काठमाण्डू, २२ जेठ– केहि दिन अधिको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन शाहले ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने अभिव्यक्ति दिएपछि राष्ट्रिय राजनीति यति बेला तरंगित छ ।
उक्त अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलले प्रधानमन्त्रीको आलोचना गरिरहेका छन् भने कतिपयले कूटनीतिक विषयमा अपरिपक्व अभिव्यक्ति दिएको भन्दै विरोध जनाएका छन ।
यही सन्दर्भमा अभिनेता राजेश हमालले सामाजिक सञ्जालमार्फत नेपालको सीमासम्बन्धी बहसमा आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्रीको भनाइप्रति घुमाउरो रूपमा असहमति व्यक्त गरेका छन । उनले राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौतीहरू सामना आउन सक्ने समेत बताएका छन ।
हमालले भनेका छन्, ‘आजको डामाडोल र अनिश्चित विश्व राजनीतिक परिवेशमा कुनै राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौतीहरू सामना गर्नुपर्ने अवस्था आउन सक्छ ।’ हमालले नेपालको सीमा सम्बन्धी विवादमा ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ फरक विषय भएको उल्लेख गरेका छन् ।
उनका अनुसार सीमापार अतिक्रमण प्रायः स्थानीय नागरिक, खुला सीमा, नदीको धार परिवर्तन, हराएका सीमा स्तम्भ वा बस्ती विस्तारजस्ता कारणसँग सम्बन्धित हुन्छ । यस्ता समस्या प्रशासनिक तथा स्थानीय प्रकृतिका हुने भएकाले संवाद, संयुक्त सर्वेक्षण र आपसी सहकार्यबाट समाधान गर्न सकिने उनले बताएका छन् । तर राज्य–प्रायोजित भू–अतिक्रमण भने पूर्णतः फरक प्रकृतिको विषय भएको हमालको भनाइ छ ।
उनका अनुसार यस्तो अवस्थामा कुनै राष्ट्र आफैं विवादित भूभागमा आफ्नो नियन्त्रण विस्तार गर्न सक्रिय हुन्छ । त्यसका लागि सडक निर्माण, प्रशासनिक संरचना स्थापना, सुरक्षा निकाय परिचालन, सरकारी नक्सा संशोधन तथा राज्यको अधिकार औपचारिक रूपमा लागू गर्ने काम गरिन्छ ।
हमालले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई राज्य–प्रायोजित भू–अतिक्रमणको प्रमुख उदाहरणका रूपमा उल्लेख गरेका छन् । हमालको यो अभिव्यक्तिलाई धेरैले प्रधानमन्त्री बालेन शाहको हालैको विवादास्पद भनाइप्रतिको अप्रत्यक्ष प्रतिक्रिया र आलोचनाका रूपमा व्याख्या गरेका छन् ।