प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाण्डु टुडे २०८३ जेठ २१ गते १२:४२ मा प्रकाशित

काठमाण्डू, २१ जेठ– छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको छ । भारत भ्रमणमा रहेका सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उनलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

सभापति लामिछाने र प्रधानमन्त्री मोदीबिच हिजो भेटवार्ता भएको थियो । सो भेटवार्ताको क्रममा सभापति लामिछानेले नेपाल भ्रमणका लागि निम्तो दिएको भ्रमण दलमा सहभागी एक अधिकारीले जानकारी दिएका छन ।

प्रधानमन्त्री मोदीले पनि आफू पनि नेपाल भ्रमण गर्न उत्सुक रहेको र चाँडै नै नेपालको भ्रमण गर्ने बताएका थिए । भ्रमण दलमा सहभागी अधिकारीका अनुसार प्रधानमन्त्री मोदी नेपाल भ्रमण गर्न इच्छुक भएमा नेपालबाट प्रधानमन्त्रीको तर्फबाट आधिकारिक निम्तो जानेछ ।

त्यसको बारेमा सभापति लामिछाने नेपाल फर्केपछि छलफल हुनसक्ने उनले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएलगतै भारतका प्रधानमन्त्री मोदीले भ्रमणका लागि निम्तो दिएका थिए । पछि नेपालस्थित भारतीय दूतावासमार्फत पठाएको बधाई सन्देशमा पनि भारत भ्रमणको निम्तो दिएका थिए ।

सो निम्तोलाई प्रधानमन्त्री बालेनले स्वीकार गरेका थिए । भ्रमणको आन्तरिक तयारी पनि दुवैतिर सुरु भइसकेको थियो । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्री औपचारिक निमन्त्रणा लिएर नेपाल आउन चाहेका थिए तर प्रधानमन्त्री बालेनले नभेट्ने भनेपछि उनी आएनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us