साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार छौंः मोदी

काठमाण्डु टुडे २०८३ जेठ २० गते १४:३१ मा प्रकाशित

काठमाण्डू, २० जेठ– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न तयार रहेको बताएका छन ।

भारत भ्रमणमा रहेका सत्तारूढ रास्वपा सभापति रवि लामिछानेसँगको भेटवार्ताको क्रममा प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन । उनले लामिछानेसँगको भेटले आफूलाई खुसी तुल्याएको उल्लेख गरेका छन् ।

‘साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्णरूपमा समर्थन गर्दछु’ मोदीले भनेका छन् ।

मोदीले ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल एक प्राथमिक साझेदार राष्ट्र भएको उल्लेख गरेका छन् । ‘दुवै देशबीच रहेको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न हामी उत्सुक छौं,’ रविसँगको भेटपछि मोदीले फेसबुकमा लेखेका छन् ।

सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भाजपाको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि जेठ १८ गते प्रस्थान गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us