काठमाण्डू, १९ जेठ– छिमेकी देश भारत भ्रमणमा रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आजबाट राजनीतिक भेटघाट सुरू गरेका छन् ।
सत्तारुढ भाजपाको निमन्त्रणामा दिल्ली गएका उनको भाजपा पार्टी कार्यालयमा भव्य स्वागत गरीएको छ । रवि भाजपा कार्यालय पुग्दा परम्परागत झाँकी र फूलमालासहित उनलाई भाजपा नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए । उनले भाजपाका अध्यक्ष नीतिन नविनसँग भेटेका छन् ।
भेटका क्रममा नेताहरूले लामिछानेलाई भाजपाको कार्यालयको संरचनाबारे जानकारी गराएका थिए । भेटवार्ता दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल भएको रास्वपाले जनाएको छ । लामिछाने पाँच दिने भ्रमणका लागि सोमबार भारत गएका हुन् ।
उनले नेपाली समुदाय र समर्थकहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । भारत बसाइका क्रममा उनले अयोध्या भ्रमण समेत गर्नेछन् ।