वीरगञ्ज- वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह नागरिकता तथा लिखतसम्बन्धी कसुरको आरोपमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनलाई मंगलबार बिहान ठोरी क्षेत्रबाट पक्राउ गरिएको हो। उनीविरुद्ध जेठ ८ गते नै पक्राउ पुर्जी जारी भएको थियो ।
सोही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले सोमबार उनका स्वकीय सचिव सत्यराज घिमिरेलाई पनि नियन्त्रणमा लिएको थियो ।
पक्राउ पुर्जी जारी भएपछि सिंह जेठ १३ गते पर्सा जिल्ला अदालत पुगेका थिए। तर अदालतको कार्यव्यस्तताका कारण आवश्यक कानुनी प्रक्रिया अघि बढ्न नसकेको बताइएको थियो ।
अदालतले सिंह, इन्द्रावती नगरपालिका की रिता भट्टराई तथा वीरगञ्ज महानगरपालिका–३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध लिखतसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो ।
अनुसन्धानका क्रममा रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नी छोरी देखाएर फर्जी जन्मदर्ता तयार गरी नागरिकता र राहदानी बनाइएको आरोप सिंहमाथि छ ।
अर्काकी छोरीलाई आफ्नो सन्तानका रूपमा जन्मदर्ता गराएर विदेश पठाइएको दाबी अभियोजन पक्षको छ ।
उक्त मुद्दामा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सरकारी वा सार्वजनिक लिखतसम्बन्धी कसुर गरेको आरोप लगाइएको छ ।
सम्बन्धित व्यवस्थाअनुसार दोषी ठहर भए सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको सजाय हुन सक्ने व्यवस्था छ ।
प्रहरीले पक्राउ परेका सिंहलाई आजै अदालतमा उपस्थित गराउने तयारी गरेको जनाएको छ ।