महिलामाथि हातपात गर्ने रास्वपा नेता पक्राउ

काठमाण्डु टुडे २०८३ जेठ १८ गते १८:३१ मा प्रकाशित

काठमाण्डू, १८ जेठ– जाजरकोटमा एक महिलामाथि हातपात र कुटपिट गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता पक्राउ परेका छन ।

पक्राउ पर्नेमा रास्वपाका कुशे गाउँपालिका सभापति मोहन विक्रम शाही रहेको प्रहरीले जनाएको छ । गत जेठ १६ गते बिहान ८ बजेतिर कुशे गाउँपालिका–६ घरङ्गास्थित स्वास्थ्य चौकीको भवनभित्र शाहीले एक महिलामाथि अपशब्द प्रयोग गर्दै हातपात र कुटपिट गरेको आरोप रहेको प्रहरीले जनाएको छ ।

महिलामाथि दुर्व्यवहार भएको उजुरीका आड्ढारमा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको टोलीले शाहीलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधिर कुमार खड्काले शाहीमाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान भइरहेको जानकारी दिएका छन ।

उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको खड्काले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us