प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विप्लवको आपत्ति, माफी माग्नुपर्ने माग

काठमाण्डु टुडे २०८३ जेठ १८ गते ९:०७ मा प्रकाशित

काठमाडौं- नेपाल–भारत सीमा विवादसम्बन्धी प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले कडा आपत्ति जनाएका छन् ।
प्रधानमन्त्रीले संसदमा नेपाल–भारत सीमा विवादका सन्दर्भमा ‘भारतले पनि मिचेको छ, नेपालले पनि मिचेको छ’ भन्ने आशयको अभिव्यक्ति दिएको उल्लेख गर्दै विप्लवले त्यसलाई गैरजिम्मेवार, निन्दनीय र अस्वीकार्य टिप्पणीको संज्ञा दिएका छन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा उनले नेपाल–भारत सीमा विवाद दुवै पक्षको कमजोरीको परिणाम नभई भारतले लामो समयदेखि नेपाली भूमि अतिक्रमण गर्दै आएको विषय भएको दाबी गरेका छन् ।

कालापानी, लिम्पियाधुरा, लिपुलेक, सुस्ता र महेशपुरलगायत ६४ भन्दा बढी स्थानमा भारतीय अतिक्रमणबारे विज्ञ तथा सरोकारवालाले निरन्तर आवाज उठाउँदै आएको उनको भनाइ छ ।

राष्ट्रको संवेदनशील विषयलाई हल्का ढंगले प्रस्तुत गर्नु जनताको भावना र राष्ट्रिय स्वाभिमानमाथिको अपमान भएको उल्लेख गर्दै उनले यस्तो अभिव्यक्ति सहन नसकिने बताएका छन् ।

विप्लवले प्रधानमन्त्रीको उक्त भनाइप्रति संसदभित्र पर्याप्त प्रतिवाद नहुनुलाई पनि चिन्ताजनक भएको बताएका छन् । उनका अनुसार यस्तो विषयमा संसदको भूमिका कमजोर, निष्क्रिय र प्रभावहीन देखिएको छ ।

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे देशसमक्ष स्पष्ट जवाफ दिनुपर्ने र सार्वजनिक रूपमा माफी माग्नुपर्ने उनको माग छ ।

साथै, यस्तो धारणा व्यक्त गर्ने व्यक्ति प्रधानमन्त्री पदका लागि उपयुक्त छ वा छैन भन्ने विषयमा समेत प्रश्न उठेको उनले बताएका छन् ।
राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषयमा आफ्नो पार्टी छिट्टै संघर्षका कार्यक्रमसहित प्रतिरोधमा उत्रिने चेतावनी दिँदै विप्लवले देशभक्त राजनीतिक शक्ति, विभिन्न संघसंस्था तथा नागरिक समाजलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us