काठमाण्डु, १९ जेठ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदै छन् ।
भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नवीनको निमन्त्रणमा सभापति लामिछाने भारत जान लागेका हुन् । लामिछाने अपराह्न १ बजे दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।
लामिछानेसँगै पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिनकुमा आचार्य र सचिवालय सदस्य दीपक बोहोरा भारत जाँदैछन् ।
रास्वपा प्रवक्ता मनिषा झाका अनुसार लामिछाने भारतमा रहँदा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्नेछन् ।
लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नेछन् । यस्तै उनले भारतमा रहेका पार्टी कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ ।
भाजपाद्वारा जारी विज्ञप्तिमा सभापति लामिछानेको रास्वपा र भाजपाबीच सम्बन्ध सुदृढ गर्ने विषय उल्लेख छ ।
भाजपाको विदेश मामिला विभाग प्रमुख विजय चौथाइवालेले जारी गरेको विज्ञप्तिमा भ्रमणले रास्वपा र भाजपाबीचको सहकार्य सुरू गर्ने उद्देश्य रहेको उल्लेख छ ।