काठमाण्डु, १७ जेठ- प्रतिनिधिसभाको बैठकमा तनाब उत्पन्न भएको छ ।
सभामुख डिपी अर्यालले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वार्थमा विवादित प्रावधानसहितको संसद् नियमावली पारित गराउन खोजेपछि विपक्षी दलका सांसदले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।
प्रतिनिधिसभा नियमावलीमा रहेका विवादित प्रावधान हटाउनुपर्ने विपक्षीको माग सत्तापक्षबाट सुनुवाई नभएपछि विपक्षी दलहरु विरोधमा उत्रिएका हुन् ।
नियमावलीमा रहेको व्यवस्थामा तीन वर्षभन्दा बढी कैद सजाय हुने वा नैतिक पतन देखिने फौजदारी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा मात्र सांसदको पद स्वतः निलम्बनमा पर्ने भन्ने व्यवस्था राखिएको छ ।
थुना बाहिर रहेर वा धरौटीमा रिहा भएर मुद्दा लडिरहेको अवस्थामा सांसद निलम्बन नहुने पनि नियमावलीमा छ । रास्वपाले आफूलाई लक्षित गरी उक्त प्रावधान घुसाएको भन्दै विपक्षीले विरोध गरेका हुन् । उक्त व्यवस्थाले सांसदलाई कानूनभन्दा माथि राखेको छ ।
विपक्षी सांसदहरु सभामुख आसनमै पुगेका थिए भने केहीले कुर्सीसमेत फालेका थिए । विपक्षीले प्रतिनिधिसभा नियमावलीको मस्यौदा दफावार छलफलका लागि संसदीय समितिमा लानुपर्ने माग गरेका छन् ।