बालेन्द्रले तत्काल पद छाड्नपर्छः भीम रावल

काठमाण्डु टुडे २०८३ जेठ १७ गते १९:२१ मा प्रकाशित

काठमाण्डू, १८ जेठ– नेपाली कम्युनष्टि पार्टी (नेकपा) का नेता एवं पूर्वगृहमन्त्री भीम रावलले प्रधानमन्त्री बालेन्द्र शाह (बलेन) ले पद छाड्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै रावलले बालेनले पदमा बस्ने नैतिक अधिकार गुमाएको बताए ।

आइतबार प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने क्रममा शाहले भारतले नेपालको मात्र नभई धेरै स्थानमा नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको विवादास्पद अभिव्यक्ति दिएका थिए ।
रावलले देशको सार्वभौमसत्ता, अखण्डता र सुरक्षाको प्रमुख जिम्मेवारी बहन गर्नुपर्ने प्रधानमन्त्रीले नेपालले भारतको जग्गा धेरै ठाउँमा मिचेको थाहा पाएँ भन्ने जस्तो अत्यन्त आपत्तिजनक अभिव्यक्ति दिएको रावलले बताएका छन् ।

नेपालको भौगोलिक अखण्डताको रक्षा गर्ने कुरामा जोड दिनुको साटो नेपालले भारतको भू–भाग मिचेको छ भन्ने झूटा कुरा संसदमा गर्ने व्यक्तिलाई प्रधानमन्त्री पदमा एकछिन पनि बसिरहने नैतिक अधिकार नरहने तर्क उनको छ ।

‘आज नेपाल र नेपाली जनताको लागि एउटा विस्मयको दिन भएको छ । किनकी देशको सार्वभौमसत्ता, अखण्डता र सुरक्षाको प्रमुख जिम्मेवारी बहन गर्नुपर्ने प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा धेरै ठाउँमा मिचेको थाहा पाएँ भन्ने जस्तो अत्यन्त आपत्तिजनक कुरा भन्नुभएछ’, रावलले लेखेका छन्, ‘नेपालको भौगोलिक अखण्डताको रक्षा गर्ने कुरामा जोड दिनुको साटो नेपालले भारतको भू–भाग मिचेको छ भन्ने झूठा कुरा संसदमा गर्ने व्यक्तिलाई प्रधानमन्त्री पदमा एकछिन पनि बसिरहने नैतिक अधिकार हुँदैन ।’

बालेन्द्रको अभिव्यक्ति प्रकारान्तरले आफ्नो भू–भाग अरू देशलाई सुम्पने किसिमको भएको आरोप रावलको छ ।

नेपालले भारतको जग्गा कहाँ, कति र कहिलेदेखि मिचेको छ, तत्काल नेपाली जनतालाई जानकारी गराउन रावलले शाहसँग माग गरे ।

कहिल्यै कसैको अधीनमा नगएको स्वाधीन, स्वाभिमानी र अखण्ड नेपालका देशभक्त नेपाली जनताले तत्काल प्रधानमन्त्रीको जवाफ माग्नुपर्ने भन्दै उनले झन्डै दुईतिहाइ बहुमतका साथ नेपाल सरकारको नेतृत्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र त्यसका सांसद र सदस्यहरूको धारणा नेपाली जनताले तत्काल पाउनुपर्ने र जनताले त्यस्तो जवाफ खोज्नुपर्ने स्पष्ट गरे ।

प्रधानमन्त्री नहुँदा अघिसम्म आफूलाई आफ्नो देशको भूभागबारे जानकारी नभएको भन्ने अर्थमा बोल्ने व्यक्ति नेपालको प्रधानमन्त्रीको पदमा आसिन हुनु नेपाल र नेपाली जनताको ठूलो दुर्भाग्य ठहर्दैने भनाइ रावलको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us