इशान र दीपेन्द्रको अर्धशतकमा नेपालले अमेरिकालाई दियो ३१८ रनको लक्ष्य

काठमाण्डु टुडे २०८३ जेठ ८ गते १४:०६ मा प्रकाशित

काठमाण्डू, ८ जेठ– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी खेलमा नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको छ । काठमाण्डूको त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनाउन सफल भएको हो ।

यो नेपालले ओडीआईमा बनाएको दोस्रो ठूलो स्कोर हो । नेपालका लागि इशान पाण्डे र उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाउन सफल भए । इशानले ८४ रनको उत्कृष्ट ब्याटिङ गरे । उनले ८३ बलमा ८ चौका र एक छक्का प्रहार गरे । इशानले लगातार दोस्रो खेलमा अर्धशतक बनाएका हुन् ।

उनले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ११० रनको शतकीय साझेदारी गरे । कप्तान रोहित ५९ बलमा ४६ रन बनाएर आउट भए । त्यसअघि आसिफ शेख र कुशल भुर्तेलले ६९ रनको ओपनिङ साझेदारी गरेका थिए ।

कुशलले २९ र आसिफले ४३ रन बनाउन सफल भए । आक्रामक ब्याटिङ गरेका दीपेन्द्रले ३६ बलमा ५९ रन बनाए । उनले समान ४ चौका र छक्का प्रहार गरे । गुल्सन झा १५, नन्दन यादव एक र सोमपाल कामी ५ रन बनाएर आउट हुँदा आरिफ शेख १७ रनमा अविजित रहे । बलिङमा अमेरिकाका शुभम रन्जानेले २ विकेट लिँदा मिलिन्द कुमार र रुशिल उगारकरले १–१ विकेट लिन सफल भए ।

कीर्तिपुरमा भने नेपालको यो हालसम्मकै सर्वाधिक योगफल हो । यसअघि नेपालले सन् २०२३ को एसीसी प्रिमियर कपमा ओमान विरुद्ध ३१० रनको योगफल बनाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us