संविधान ‘डिरेल’ गर्ने प्रक्रिया अघि बढिरहेको छ:भट्टराई

काठमाण्डु टुडे २०८३ जेठ २ गते १६:२२ मा प्रकाशित

काठमाडौं, शनिबार — वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई ले नेपालको संविधान, न्यायपालिका र राजनीतिक दलहरूको अवस्थाप्रति कडा आलोचना गर्दै वर्तमान प्रणाली गम्भीर संकटतर्फ उन्मुख भएको बताएका छन् ।

संविधान निर्माण गर्ने शक्तिहरू नै त्यसलाई कमजोर पार्न सक्रिय भएको उनको आरोप छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रतिनिधि सभाको पहिलो र दोस्रो विघटनसँगै संविधानलाई “डिरेल” गर्ने र यसको मूल मर्ममाथि प्रहार गर्ने प्रक्रिया सुरु भएको दाबी गरे । विगतमा यस्ता विघटनविरुद्ध नागरिक तथा राजनीतिक दलहरू सडकमा उत्रिएको र अदालतले संविधानलाई सही मार्गमा फर्काएको स्मरण गर्दै उनले अहिले भने परिस्थिति फरक र चिन्ताजनक बनेको टिप्पणी गरे ।
नियमित रूपमा अदालतमा बहस गर्ने कानुन व्यवसायीका रूपमा आफूलाई यस्तो भन्नु परेकोमा दुःख लागेको उल्लेख गर्दै उनले भने, ‘विगतमा अदालतले दुवै पटक संविधानलाई ट्र्याकमा ल्याइदिएको थियो, तर अहिले त्यो हिम्मत छ भन्ने महसुस हुन छोडेको छ । अदालत संविधानको मर्मअनुसार चल्न नसक्ने अवस्थामा पुगेको छ, र पछिल्ला घटनाक्रमले न्यायालय भय र त्रासको छायाँमा टिकेको जस्तो देखिन्छ ।’

उनले राजनीतिक दलहरूलाई कडा शब्दमा आलोचना गर्दै अहिलेका दलहरू “प्राइभेट लिमिटेड कम्पनी” जस्ता बनेको टिप्पणी गरे । उनका अनुसार दलभित्रको आन्तरिक लोकतन्त्र समाप्त हुँदै जाँदा नागरिक स्वतन्त्रतामाथि गम्भीर असर परेको छ । विचार, सिद्धान्त र सामूहिक निर्णयका आधारमा चल्नुपर्ने दलहरू अहिले सीमित समूहको नियन्त्रणमा पुगेको उनको आरोप छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us