श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

काठमाण्डु टुडे २०८३ वैशाख ३० गते १४:५१ मा प्रकाशित

काठमाण्डू, ३० वैशाख– गुल्मीमा श्रीमान‍्‍को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । गुल्मीको इश्मा गाउँपालिकामा–६ साहुघर निवासी ४५ वर्षीय थमनबहादुर कुमालको कुटपिटबाट ४३ वर्षीया श्रीमती एमी भनिने सुमित्रा कुमालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मंगलबार बेलुका दुवै जनाले सँगै मादक पदार्थ सेवन गरेपछि विवाद भएको थियो । विवादको क्रममा थमनले एमीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएकी एमीलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास पुर्‍याइएको थियो ।

तर उपचारको क्रममा उनको मृत्यु भएको गुल्मीका प्रहरी नायब उपरीक्षक डीएसपी गंगाबहादुर सारुले जानकारी दिए । घटनाको थप अनुसन्धानका लागि बुधबार बिहान जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वतकुमार केसीको कमान्डमा ५ जनाको टोली खटिएको छ । घटनाको बारे प्रहरीले आवाश्यक अनुसन्धान भइरहेको जनाएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us