नीति कार्यक्रम र बजेट पनि अध्यादेशबाटै ल्याए सडकमा जान्छौंः एमाले

काठमाण्डु टुडे २०८३ वैशाख १६ गते १५:४५ मा प्रकाशित

काठमाण्डू, १६ वैशाख– प्रतिपक्षी दल एमाले राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने शैली अलोकतान्त्रिक र असंसदीय भएको भन्दै आपत्ति व्यक्त गरेका छन ।

आज (बुधबार) विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा उनले सरकारले संसदलाई निष्क्रिय बनाएर अध्यादेशबाटै राजकाज चलाउने प्रयास गरेको भन्दै उनले आपत्ति व्यक्त गरेका छन । नेता दंगालले सरकारले आगामी नीति तथा कार्यक्रम तथा बजेट पनि अध्यादेशबाटै ल्याउने हो भने संसद्को औचित्य समाप्त हुने जिकिर गरेका छन ।

उनले भने, अध्यादेशबाटै शासन गर्ने, राजकाज गर्ने सरकारको जुन अलोकतान्त्रिक र असंसदीय तरिका छ यसप्रति हाम्रो घोर आपत्ति छ । हामी अब हेर्दै जान्छौँ भोलिको दिनमा बजेट निर्माण गर्नको लागि संसद आह्वान त गर्ने होला नि, नीति कार्यक्रम त बनाउने होला नि ।’ दंगालले यदि सरकारले नीति तथा कार्यक्रम र बजेटसमेत अध्यादेशमार्फत ल्याउने बाटो रोजे विपक्षी दलहरू सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएका छन ।

उनले भने, ‘नीति कार्यक्रम र बजेट पनि अध्यादेशबाटै ल्याउने हो भने त हाम्रो भन्नु केही छैन । त्यसपछि सदनको मुद्दा सकियो हामी सडकमा जानुपर्छ । तर हामीलाई विश्वास छ यो सरकारले नीति तथा कार्यक्रम त संसदबाटै ल्याउँछ होला । त्यतिबेला नै फैसला होला ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us