काठमाण्डू, १६ वैशाख– सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने तयारी गरेको छ । हाल परराष्ट्र मन्त्रालयका अधिकारीहरुमध्येबाट र सत्तारुढ दलहरुको सिफारिसको आधारबाट राजदूत नियुक्ति हुँदै आएको छ ।
तर, वर्तमान सरकारले विगतको परम्परा तोड्दै खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिको पहल सुरु गरेको हो । परराष्ट्र मन्त्री शिशिर खनालको सचिवालय स्रोतका अनुसार त्यसका लागि निश्चित संख्यामा विज्ञापन खुलाइने छ र प्रतिस्पर्धाबाट छानिएकालाई योग्य व्यक्तिलाई राजदूत नियुक्त गरिने छ ।
सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित सहसचिवहरुको एक बैठकमा पनि मन्त्री खनालले केही राजदूत खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नेबारे सोचेको बताएका थिए । तर मन्त्री खनालले कहिले विज्ञापन खुल्छ भनेर ठ्याक्कै मिति भने जानकारी गराएनन् ।‘बैठकमा मन्त्री खनालले रिक्त पदका लागि विज्ञापन निकाल्ने विषयमा प्रधानमन्त्रीको पनि सहमति लिइसकेको जानकारी गराउनु भयो,’ स्रोतले भन्यो, ‘कुरा सुन्दा छिट्टै विज्ञापन खुलाउने तयारी गरेको बुझ्न सकिन्छ ।’
मन्त्री खनालको सचिवालयका एक सदस्यले भने अर्को हप्ता खुला दरखास्त आह्वान हुनसक्ने जानकारी दिएका छन । राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५ अनुसार कुल राजदूत पदमध्ये कम्तीमा ५० प्रतिशत क्यारियर कूटनीतिज्ञ ९परराष्ट्र मन्त्रालयका कर्मचारी०बाट र बाँकी ५० प्रतिशत राजनीतिक नियुक्तिबाट पूर्ति गर्नुपर्ने व्यवस्था छ ।
हाल नेपालका कुल ४४ वटा विदेशस्थित नियोग छन्, जसमा ३४ दूतावास र १० वाणिज्य दूतावास कार्यालय छन् । हाल भारत, चीन, अमेरिका, बेलायतसहित १७ राजदूत पद रिक्त छन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नियुक्त राजदूतहरुलाई जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकार र २१ फागुनको निर्वाचनपछि बनेको बालेन शाह नेतृत्वको वर्तमान सरकारले फिर्ता बोलाउने निर्णय गरेका छन् ।