काठमाण्डू, १५ वैशाख– कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले अहिले राष्ट्रियसभाको संसदीय दलको नेता फेर्ने कुरा ठीक नभएको बताएका छन । पछिल्ला केहीदिन यता राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता रहेका कृष्णप्रसाद सिटौलालाई फेर्ने कुरामा बहस चलिरहेको छ ।
मंगलबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले धुम्बाराहीमा आयोजना गरेको भेलामा पुगेका विश्वकर्मासँग पत्रकारले सोही प्रशंगमा प्रश्न सोधेका थिए । जसको जवाफ दिँदै उनले सिटौलालाई हटाउने कुरा अहिले कुनै पनि कोणबाट सही नहुने बताएका हुन् ।
‘त्यो गर्नुभयो भने त्यति राम्रो नहोला,’ उनले भने, ‘राष्ट्रिय सभामा अहिले भइरहेका नेतामध्ये ज्येष्ठ तथा शीर्ष नेता नै दलको नेता हुनुहुन्छ ।’ अहिले राष्ट्रियसभामा दलको नेता बदल्दा के हुने ? भन्दै विश्वकर्माले प्रश्न गरे । उनले भने, ‘प्रधानमन्त्री बनाउन त होइन होला ।
अथवा त्यहाँबाट पार्टीलाई अर्को ठूलो उपलब्धी हुने होइन होला । र, उहाँ स्वयं व्यक्तिबाट कुनै बाधा पनि भएको छैन ।’