काठमाण्डू, १५ वैशाख– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विश्वराज पोखरेलबाट थर्काइ खेप्ने विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर बुढाथोकीले माफी मागेका छन् ।
खिजीदेम्बा गाँउपालिका–२ रगनीमा रहेको श्री चण्डेश्वरी माध्यमिक विद्यालयका प्रअ मगर र अध्यक्ष बुढाथोकीले मंगलबार विज्ञप्ति जारी गर्दै सांसद पोखरेलसँग माफी मागेका हुन् । १० वैशाखमा सांसद पोखरेलले आफूलाई गेटमा स्वागत गर्न नआएको भन्दै प्रधानाध्यापक सन्तबहादुर मगरलाई थर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
उक्त भिडियो भाइरल भएपछि सांसद पोखरेलको चौतर्फी आलोचनाको सिकार बनेका थिए । आलोचना बढेपछि सांसद पोखरेलले प्रअसँग माफी समेत मागेका थिए । यो बीचमा यस विषयबारे विद्यालयले कुनै औपचारिक धारणा सार्वजनिक गरेको थिएन । तर एकाएक आज विज्ञप्ति जारी गर्दै विद्यालयले उक्त घटनाले सांसद पोखरेलको मानमर्यादामा पर्न गएको आघातप्रति पुनः क्षमायाचना मागेको हो ।
सांसद पोखरेल विद्यालय आइपुग्दा प्रअ मगर विद्यालयका मागपत्र तयार गर्न व्यस्त रहेको प्रअ मगर र विव्यस अध्यक्ष बुढाथोकीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘वैशाख १० गते बिहीबारका दिन बिहान ९ बजेको समयमा ओखलढुंगा जिल्ला प्रतिनिधिसभा सदस्य माननीय विश्वराज पोखरेल विद्यालयको समस्या तथा शैक्षिक गतिविधिको जानकारी लिन विद्यालयमा पूर्व कार्यक्रम अनुसार आउँदा विद्यालय प्रधानाध्यापक श्री सन्तबहादुर मगर आफ्नै कार्यकक्षमा विद्यालयका समस्या तथा आवश्यक मागहरू पेस गर्ने तयारी भइरहेको बेला माननीय विश्वराज पोखरेल विद्यालय हाताभित्र प्रवेश गर्नु भएको रहेछ ।
सोही समयमा प्रअ विद्यालयका मागपत्र तयार गर्ने क्रममा व्यस्त भई माननीय विद्यालय प्रवेश गर्नु भएको जानकारी समयमै थाह नपाई केहिबेरपछि मागपत्र सहित स्वागत सत्कार गर्न कार्यालयबाट बाहिर निस्कँदा माननीयज्यू विद्यालयबाट छोटो समयमा नै बाहिर निस्किसक्नु भएको रहेछ,’ विज्ञप्तिमा भनिएको छ ।