काठमाण्डू, १५ वैशाख– कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको विशेष महाधिवेशन भदौ २४ गतेकै निरन्तरता भएको टिप्पणी गरेका छन । कांग्रेस आधिकारिताबारे निर्वाचन आयोगको निर्णय पनि त्यसैको निरन्तरता भएको बताउँदै उनले त्यसैको जगमा रास्वपाले दुई तिहाइ बहुमत हासिल गरेको समीक्षा आज आफ्ना पक्षका नेताहरुको बैठकमा सुनाएका छन ।
मंगलबार धुम्बाराहीको स्मार्ट होटलमा आयोजित आफू पक्षीय नेताको भेलामा बोल्दै खड्काले भने, ‘हामीले संविधान, कानुन, नियम, पार्टीका विधान, निर्वाचन आयोगले स्थापित गरेका नजिरहरूको प्रतिकूल निर्णय, कानुनी राज्यको मुलुकमा ती सबैलाई च्यापेर सेटिङको भरमा निर्वाचन आयोगले त्यस्तो निर्णय गर्ला भनेर हामीले सोचेका थिएनौं, ‘जब दुईतीन अगाडि आशंका भए, हामीले गर्नसक्ने प्रयत्न सबै गर्यौं ।’ तत्कालीन सभापति शेरबहादुर देउवालगायत सबै नेताले सक्दो प्रयास गरेको उनले बताए ।
आफ्नो व्यक्तिगत कुरा भन्दै उनले जसले २४ गतेको घटना घटायो त्यसैको सिलसिलामा विशेष महाधिवेशनको काम भएको पनि उनले बताए । ‘जसले २४ गते देश सिर्जना भएदेखिको राज्यसत्ता ध्वंस गरे, नेपालको परिवर्तनमा ००७ सालका, ०४६ सालका, २०४२ सालका, ०६२–६३ का सबै इतिहास खरानी बनाइयो, परिवर्तनकर्ता सबै दलका कार्यालय खरानी बनाइयो, त्यही प्रकरणको निरन्तरता जेसुकै भनिएपनि विशेष महाधिवेशको रूपमा आएको हो,’ उनले भने, ‘त्यही विशेष महाधिवेशन नभएको भए रास्वपाको दुई तिहाइ आउने थिएन ।’
जेजे कारणले, जुनजुन तरिकाले ज–जसले, जेजे गरेपनि लोभ्याएर, भ्रम पारेर, झुक्याएर यी गतिबिधि भएको उनले बताएका छन । ‘आधा कांग्रेस बाहिर, आधा कांग्रेस विशेष महाधिवेशनमा । दुई फ्याक गराइयो कांग्रेसलाई विशेष महाधिवेशनको नाममा,’ उनले भने ।
त्यो बेला चलेको एक हल्ला पनि उनले सुनाए । उनले अगाडि भने, ‘चर्चित छ, सबैलाई थाहा छ । सबैलाई हाम्रो बनाएका छौं, त्यसैले आधिकारिकता हाम्रो हुन्छ । १० दिन अगाडिदेखि यस्तो प्रचार थियो । नभन्दै निर्वाचन आयोगको निर्णय पनि त्यही आयो ।’