काठमाण्डू, १५ वैशाख– कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापासँग भएको भेटको कुराकानीबारे आफ्नो समूहका नेताहरुको बैठकमा ब्रिफिङ गरेका छन् ।
आज (मंगलबार) महाराजगञ्जको स्मार्ट होटलमा भएको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेलामा खड्काले सभापति थापासँगको भेटबारे ब्रिफिङ गरेका हुन् । उनले सभापति थापाले पार्टीलाई कसरी एकताबद्ध गरेर लैजानेभन्नेबारे सभापतिले सुझाव मागेको र त्यसबारे आफूले सुझाएका विषयबारे पनि नेताहरूलाई जानकारी गराए ।
‘आधा कांग्रेस नेतृत्वको साथमा र आधा बाहिर रहेको जस्तो देखिएकाले पार्टी अहिले गुट–गुटमा विभाजित छ,’ सभापतिसँग भएको कुराकानीबारे खड्काले भने, ‘यसलाई सम्पूर्ण रूपमा एकता गर्ने वा विभाजनतर्फ लैजाने भन्ने जिम्मेवारी अब सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको काँधमा छ। त्यसबारे कसरी अगाडि बढ्ने भन्ने तपाईंहरूको योजना र रणनीतिमा भर पर्छ ।
खड्काले पार्टीभित्रको गुटबन्दी अन्त्य गरी पूर्ण एकता कायम गर्न आफू तयार रहेको बताएको पनि जानकारी गराए । ‘पार्टी विभाजन वा एकताको भविष्य नेतृत्वको हातमा छ । हामी पार्टीलाई एकताबद्ध गराउन तयार छौँ । नेतृत्वले चाहन पर्यो,’ खड्काले बैठकमा भने ।