आयोजनाको म्याद पटक–पटक थपिरहनु कुशासन होः राजु पाण्डे

काठमाण्डु टुडे २०८३ वैशाख १५ गते १४:३१ मा प्रकाशित

काठमाण्डू, १५ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले विकास निर्माणका आयोजनामा हुने ढिलासुस्ती र खानेपानीको समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै पाण्डेले यस्तो बताएका हुन । उनले आयोजनाहरूको म्याद पटक–पटक थपिने प्रवृत्तिलाई ‘कुशासन’को संज्ञा दिए । उनले राष्ट्रिय योजना आयोगले पेस गर्ने विवरणमा आयोजनाको स्पष्ट अवधि उल्लेख नगरिएकोमा प्रश्न उठाए । ‘पटक–पटक समय थप्ने र ठेकेदारलाई छोडिरहने काम कुशासन हो ।

५ वर्षमा सकिनुपर्ने काम १०–२० वर्षसम्म लम्बिनुले सुशासन छैन भन्ने देखाउँछ ।’ उनले दैविक प्रकोप वा निर्माण सामग्री आपूर्तिको अवरोध जस्ता विशेष परिस्थितिमा बाहेक अन्य बहानामा म्याद थप्न नहुने पनि बताएका छन ।

उनले भने, ‘जनताले अब परिवर्तन खोजेका छन्, विकासका आयोजनामा हुने यो ढिलासुस्ती अन्त्य हुनैपर्छ ।’ सांसद पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका जनताले भोग्नुपरेको समस्याबारे पनि चर्चा गरे ।

उनले आफ्नो निर्वाचन क्षेत्र काठमाण्डू–३ अन्तर्गत पर्ने गोकर्णेश्वरका बासिन्दाले मेलम्चीको पानी काठमाण्डू पठाए पनि आफूहरू भने ‘काकाकुलु हुनुपरेको गुनासो गरे । उनले भने, ‘मेलम्चीको पानी मेरै क्षेत्रको ड्याम भएर काठमाण्डूभरि सप्लाई हुन्छ, तर त्यहाँका जनता पानी नपाएर छटपटिएका छन् । आफ्नै आँगनबाट पाइप बिच्छ्याइएको छ, तर आफू भने तिर्खाउनु पर्ने कस्तो विडम्बना हो ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us