नवलपुरमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८३ वैशाख १५ गते १३:२४ मा प्रकाशित

काठमाण्डू, १५ वैशाख– नवलपरासीको मध्यबिन्दु नगरपालिका–७ हरियाली जंगल क्षेत्रमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा कार चालक अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन ।

दुम्किबासबाट कावासोतीतर्फ आउँदै गरेको लु १ ख ९५८० नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ग.प्र.०१–००१ च ०४७४ नम्बरको कार आज बिहान करिब १०ः५५ बजे ठोक्किएका थिए । टाउकोमा गम्भीर चोट लागेको अवस्थामा ट्रक चालकले नै उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा पुर्‍याएकामा उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

मृतकको नाम, थर, ठेगाना खुल्न भने बाँकी रहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिएका छन । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us