काठमाडौं, वैशाख १५- पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै नेपालको पूर्वी भाग नजिक रहेको न्यून चापीय प्रणालीका कारण देशका विभिन्न क्षेत्रमा मौसममा आंशिक बदली देखिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा तथा कोशी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
विशेषगरी कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भाग र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ ।