शंखरापुरबाट पेस्तोलसहित प्रहरीले २ जना पक्राउ

काठमाण्डु टुडे २०८३ वैशाख १२ गते १५:२३ मा प्रकाशित

काठमाण्डू, १२ वैशाख– काठमाण्डूको शंखरापुरबाट पेस्तोलसहित प्रहरीले २ जना पक्राउ गरेको छ । शंखरापुर नगरपालिका–५ सालीनदीस्थित खोला किनारबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली ३ राउन्डसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका–३ घर भएका ३५ वर्षीय राम भन्ने जीवन जिम्बा र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ घर भएका ३४ वर्षीय वीरबहादुर तामाङ रहेका छन् ।

उक्त स्थानमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

साथै उनीहरूलाई नियन्त्रणमा लिने क्रममा जीवनले प्रहरीलाई लक्षित गरी गोली प्रहार गरेपश्चात प्रहरीले जवाफी फायर गर्दा घाइते भएका जीवनको सुस्मा कोइराला मेमोरियल अस्पताल सलम्बुटारमा उपचार भइरहेको छ । प्रहरीले हाल फरार अन्य २ जनाको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us