काठमाण्डू, ९ वैशाख– एमाले उपाध्यक्ष विष्णु पौडेलले पार्टीले चुनावमा भोगेको पराजय ठूलो धक्का भएको तर्क गरेका छन । आज (बुधबार) नेपालमा कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन ।
उनले चुनावको पराजय चानचुने धक्का नभएको तर्क समेत गरे । उनले भने, ‘यो बीचमा धक्का खायौँ । यो चानेचुने धक्का होइन । धक्काको अनुभवबाट शिक्षा लिएर हामी अघि बढ्न चाहन्छौँ, ‘निर्वाचनमा पराजय भएपछि औचित्य सकियो भनिएको छ । हामी पार्टी एकतालाई कायम राख्छौं । हामी हाम्रो यात्राको समीक्षा गर्नेछौं । औचित्य थप पुष्टि गर्न चाहन्छौं ।’
उनले पछिल्लो १० वर्षमा पार्टीले अवसर पाएर पनि कमीकमजोरी केके भए भन्नेतर्फ ध्यान दिन नसकिएको स्वीकार समेत गरेका छन । ‘०७२ देखि ०८२ सम्म समीक्षा गर्दा–यही बीचमा झन्डै दुई तिहाइ प्राप्त गर्यौँ । तर आज यो पराजय धक्का किन खाइयो भन्ने बुझ्नुपर्नेछ । आफ्ना कमजोरी केछन् हामी समीक्षा गर्नेछौँ । बाह्य र पार्टीभित्रको कारण केछन् हामी समीक्षा गर्नेछौं,’ उनले भने ।
उनले जनताले पार्टी र नेताबारे आलोचना गरिरहेको पनि बताए । ‘जनताले आलोचना गरेका छन्,’ उनले भने, ‘आचरण र कार्यनीतिका हिसाबले मुलुकलाई नयाँ ढंगले अघि लैजान सक्ने हिसाबले हामी अघि बढ्नेछौं । देशैभरिका सबै कार्यकर्तालाई भन्छु, टाउकोमाथि हात राखेर निराश हुने क्षण होइन ।’