मति अनुकूल गतिलाई बुझ्ने मुर्खता नगरौंः ईश्वर पोखरेल

काठमाण्डु टुडे २०८२ चैत २० गते १५:०७ मा प्रकाशित

काठमाण्डू, २० चैत– एमाले नेता नेता ईश्वर पोखरेलले आफ्नो मति अनुकूल परिस्थितिलाई बुझ्ने मुर्खता नगर्न पार्टी नेतृत्वलाई अनुरोध गरेका छन । आज (शुक्रबार) सामाजिक सञ्जाल फेसबुकमा उनले यस्तो अनुरोध गरेका हुन ।

‘नेकपा (एमाले)को रक्षाका लागि’ शीर्षकमा एक स्टाटस लेख्दै नेता पोखरेलले विकसित परिस्थिति अनुसार आफ्नो चिन्तन र व्यवहारमा सुधार गर्नुपर्नेमा जोड दिएका हुन् । एमाले नेता पोखरेलले लेखेका छन, ‘गति अनुसार मति बनाऔं, आफ्ना (बिग्रिएका) मति अनुकूल गतिलाई बुझ्ने मुर्खता नगरौं, गति अनुसार मति सपार्ने काममा लागौं, सिंगो एमाले पंक्तिले यो कुरा बुझौं ।’

सिद्धान्तहीन सत्ता स्वार्थ, सत्ता अवसरवाद, आत्मकेन्द्रित अभिव्यक्ति र विधि–पद्धति विपरीतका गतिविधि पार्टीका लागि अत्यन्तै हानिकारक रहेको भन्दै उनले यस्ता कुराबाट बच्दै पार्टीलाई नयाँ स्तरमा गतिवान बनाउन एकताबद्ध हुनुपर्ने अहिलेको आवश्यकता रहेको औंल्याएका छन् ।

एमाले आफ्नो स्थापनाकालदेखि नै व्यवस्थित विधि, पद्धति, सामूहिक नेतृत्व प्रणाली र आलोचनात्मक चेतबाट निर्देशित पार्टी रहेको स्मरण गराउँदै उनले मंसिरमा सम्पन्न ११ औं राष्ट्रिय महाधिवेशनमा पनि पार्टीलाई नयाँ जीवन दिन गम्भीर बहस भएको पनि बताए ।

अहिले पार्टीमाथि चौतर्फी षडयन्त्रपूर्ण हमला भइरहेको दाबी गर्दै नेता पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमिलाई नबिर्सन र लडेको ठाउँबाट धुलो टक्टक्याउँदै उठ्न सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई आह्वान गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us