सभामुख पदमा रास्वपाका डीपी अर्यालको उम्मेदवारी दर्ता

काठमाण्डु टुडे २०८२ चैत २० गते १२:१९ मा प्रकाशित

काठमाण्डू,२० चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका छन् । उनको प्रस्तावकमा प्रतिनिधि सभा सदस्य समेत रहेका पार्टी सभापति रवि लामिछाने छन् ।

समर्थकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल रहेका छन । सभामुख पदको निर्वाचनमा आगामी २२ चैतमा हुँदैछ । त्यसका लागि संघीय संसद सचिवालयले आज शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुख पदको उम्मेदवारी दर्ताको समय तोकेको छ । लगत्तै साढे २ बजे उम्मेदवारको सूची प्रकाशित हुनेछ ।

२२ गते बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्तावले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्नेछन् । उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल सकिएपछि निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेको छ ।

रास्वपाको बिहीबार बसेको बैठकले सभामुख पदमा अर्याललाई अघि सार्ने निर्णय गरेको थियो । २७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपा १८२ सिटसहित दुई तिहाइ बहुमत नजिक रहेकाले अर्याल सभामुख हुने निश्चित छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us