‘म अचम्मको सांसद, आउनै नपर्ने मान्छे आएँ’: महावीर पुन

काठमाण्डु टुडे २०८२ चैत १९ गते १७:३६ मा प्रकाशित

काठमाण्डू, १९ चैत– स्वतन्त्र सांसद महावीर पुनले प्रतिनिधिसभामा आफ्नो भूमिका कुनै पक्ष–विपक्ष भन्दा पनि निष्पक्ष हुने बताएका छन । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै सांसद पुनले आफू आउनै नपर्ने मान्छे आएको बताउँदै आफू निष्पक्ष रहने बताएका छन् । ‘म एउटा अचम्मको सांसदको रूपमा यहाँ आएको छु, किनभने म फरक छु ।

बोल्ने तरिका, काम गर्ने तरिका फरक छ, सबैकुरा । म प्रायः सबैसँग मिल्दैन,’ पुनले भने, ‘म आउनै नपर्ने मान्छे कसरी यो ठाउँमा आइपुगे भन्न चाहन्छु ।’ उनले भने, ‘म अमेरिका पढेर २०४९ भदौमा आएको उनले बताए ।

त्यसपछिका ३३ वर्ष एउटा झोला बोकेर पूर्णकालीन समाजसेवीको रूपमा समय काटिरहेको बताउँदै उनले भने, ‘म समाजसेवी हुँ, समाजसेवी नै रहनेछु ।’ सदनमा आफ्नो भूमिकाबारे उनले अगाडि भने, ‘मेरो भूमिका पक्ष–विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ ।’

समाजसेवी भएकाले प्रतिनिधिसभाको उम्मेदवार हुने रहर पनि नभएको र सोचेको पनि नभएको बताए । ‘जेनजी आन्दोलनपछि जेनजी भाइहरूले ताप्लेजुङमा किताब बेचिरहेको बेला बोलाएर शिक्षा मन्त्री बनाए,’ उनले भने ।

त्यसपछि चार महिना शिक्षा मन्त्री रहँदा शिक्षा क्षेत्रका अनेकौं समस्या, चरम राजनीतिककरण विकृति देखेको पनि उनले बताएका छन । ‘ती विकृति हटाएर विद्यालय, कलेज र विश्वविद्यालयमा विशुद्ध शैक्षिक वातावरण बनाउन प्रयास गरेको थिएँ,’ उनले भने, ‘त्यसका लागि तीनवटा विधेयकको मस्यौदा बनाएर अध्यादेश ल्याउन र चारवटा नियमावली ल्याउन प्रयास गरेको थिएँ ।’

त्यतिबेला कामचलाउ सरकार भएकाले त्यो नसकिएको उनले बताए । ‘उम्मेदवारी दर्ताको ४० घण्टा अगाडि माघ ४ गते बेलुकी ७ बजेसम्म टुप्पीदेखिको बल लाउँदा पनि विधायन समितिबाट ती काम अघि बढेनन्,’ उनले भने ।

त्यसपछि मन्त्री पदबाट राजीनामा दिएर चुनाव लड्न गएको दाबी गरे । ‘यसरी चुनावमा उठ्नै नहुने र नपर्ने मान्छे उठेको हुँ,’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us