काठमाण्डू, १९ चैत– एमाले राष्ट्रिय सभा सदस्य प्रेमकुमार दंगालले नवगठित सरकारको पहिलो निर्णय नै राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको आरोप लगाएका छन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै एमाले सांसद दंगालले यस्तो बताएका हुन ।
उनले फागुन २१ को निर्वाचनबाट बहुमत प्राप्त गरी प्रधानमन्त्री बनेका बालेन्द्र साहलाई बधाई दिँदै सरकारको कामलाई गुण र दोषका आधारमा मात्र समर्थन वा विरोध गर्ने स्पष्ट पारेका हुन् । दंगालले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई मध्यरातमा आतङ्ककारीलाई जस्तो गरी गिरफ्तार गरिएको भन्दै सरकारको नियतमाथि गम्भीर प्रश्न उठाएका छन् ।
भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिका सम्बन्धमा गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनलाई दंगालले ‘मिथ्याङ्क र पूर्वाग्रहमा आधारित’ भन्दै खारेजीको माग गरेका छन् । आयोगका अध्यक्ष कार्कीले आयोग गठन हुनुपूर्व नै सामाजिक सञ्जालमा व्यक्त गरेका धारणालाई पुष्टि गर्ने गरी मात्र प्रतिवेदन तयार पारिएको उनले दाबी गरे ।
उनले एमाले अध्यक्ष ओली र नेता लेखकको बिना शर्त तत्काल रिहाइ गर्न, पूर्वाग्रही कार्की आयोगको प्रतिवेदन अविलम्ब खारेज गर्न र मन्त्रिपरिषद्को चैत १३ गतेको निर्णय फिर्ता लिन सरकारसँग जोड्दार माग गरेका छन् ।
दंगालले दुई पटक मिर्गौला प्रत्यारोपण गरेका र वृद्ध अवस्थामा रहेका व्यक्तित्वलाई बुवाको काजक्रिया सकिन नपाउँदै अपमानजनक ढङ्गले गिरफ्तार गरिनु निर्दयी र आपराधिक मनोवृत्ति भएको टिप्पणी गरे ।
उनले सरकारको दमनकारी नीतिको विरोध गर्दै सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा स्वतन्त्र र निष्पक्ष उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्नेमा जोड दिएका छन् ।
साथै, गलत प्रतिवेदन ल्याउने आयोगका अध्यक्ष र सदस्यहरूमाथि नै छानबिन गरी कारबाही गर्नुपर्ने उनको माग छ । देशभर एमाले कार्यकर्तामाथि भइरहेको प्रहरी हस्तक्षेप र सुर्खेतस्थित पार्टी कार्यालयमा भएको आक्रमणको समेत दंगालले कडा शब्दमा भर्त्सना गरेका छन् ।
सरकारले लोकतान्त्रिक मूल्य मान्यता विपरीत दमनको बाटो रोजेको भन्दै उनले यस्ता गतिविधि तत्काल नरोकिए कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।