हामीमाथि चौबिसै घण्टा निगरानी गर्नूः रवि

काठमाण्डु टुडे २०८२ चैत १९ गते १५:५६ मा प्रकाशित

काठमाण्डू, १९ चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूहरूमाथि चौबिसै घण्टा निगरानी गर्न प्रतिपक्षी दलहरूलाई अनुरोध गरेका छन ।

आज (बिहिबार) बसेको पहिलो प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सभापति लामिछानेले यस्तो बताएका हुन । रास्वपा सभापति लामिछानेले भने, ‘प्रतिपक्षीमाथि मेरो अनुरोध छ, हामीमाथि चौबिसै घण्टा निगरानी राख्नुहोला ।’

साथै, उनले आफ्ना सांसदहरूलाई प्रश्न सोधेर आएको सम्झाउँदै जिम्मेवारी पनि उति नै रहने बताए । ‘जनताले हामीलाई दिएको विशाल बहुमतको इतिहास, यो पनि फेरि गुमेको अवसर भन्यौं भने हामी फेरि कलंकित हुनेछौं ।

हामीलाई त्यो मञ्जुर छैन,’ रास्वपा सभापति लामिछानेले भने, ‘रास्वपाका साथीहरूलाई म यो सम्झाउँछु, हामी प्रश्न सोधेर आएका हौं । अहिले बस्ने ठाउँ फेरियो होला । आज पनि ती प्रश्नप्रति हाम्रो नैतिक जिम्मेवारी उति नै छ ।’

साथै, उनले आफूहरू प्रश्न मात्रै देखाउने नभइ जवाफ खोज्न पनि आउने बताए । ‘हामीलाई प्रश्न देखाउन मात्रै होइन, जवाफ खोज्न पनि आउँछ । हामीले त्यो देखाउनुछ,’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us