काठमाण्डू, १४ चैत– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नु सरकारको अपरिपक्वता भएको टिप्पणी गरेकी छन् ।
शनिबार एक विज्ञप्ति जारी गर्दै उनले ओली र लेखकलाई पक्राउ गरिएकामा विरोध जनाएकी हुन् ।
सरकारको उक्त कदमले दूरगामी प्रभाव पार्ने र मुलुकमा अस्थिरताको जोखिम बढाउन सक्ने चिन्ता उनको छ ।
भण्डारीेले जेनजी आन्दोलनमा भएको घटना छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन पूर्ण नभएको सन्दर्भमा सरकार गठन भएकै दिन त्यसको कार्यान्वयन गर्दै पक्राउ गर्नु संवेदनशील र असंगत भएको आरोप लगाइा् ।
वर्तमान संविधान, प्रचलित कानुन र स्थापित लोकतान्त्रिक अभ्याससँग मेल नखाने उल्लेख गर्दै कुनै पनि आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया, पर्याप्त अध्ययन र संस्थागत परामर्श आवश्यक हुनेमा जोड दिएकी छन् ।
भण्डारीले सरकारलाई संयमता अपनाउँदै विधि र प्रक्रियाअनुसार अघि बढ्न तथा मुलुकको स्थायित्व र लोकतान्त्रिक प्रणालीको संरक्षणमा गम्भीर हुन ध्यानाकर्षण गराएकी छन् ।