काठमाण्डू, १ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले तत्काल आफूले कुनै पनि मन्त्रालयको दाबी नगरेको बताएका छन । आज (आइबतार) रास्वपाको केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै रास्वपा प्रवक्ता झाले यस्तो बताएका हुन ।
उनले सञ्चारमन्त्री बन्ने विषयमा पार्टीभित्र कुनै छलफल नभएको बताएका हुन् । चुनावअघि धनुषामा आफू सञ्चारमन्त्री बन्ने भनी दिएको अभिव्यक्तिको प्रसंगमा सञ्चारकर्मीले राखेको प्रश्नको जवाफ दिँदै झाले अहिले त्यो एजेन्डा प्रवेश नगरेको सुनाए ।
‘एउटा राजनीतिज्ञ र प्रत्यक्ष निर्वाचित सांसदका रूपमा, अनि पार्टीका सांसदमा दोहोरिने अनुहारमध्ये पर्दै गर्दा राजनीतिक रूपमा केही अपेक्षा हुनु स्वाभाविक होला,’ उनले भने, ‘तर अहिले मैले कुनै किसिमको मन्त्रालयगत दाबी राख्नु राजनीतिक रूपले व्यावहारिक सोचेको छैन ।’
मन्त्री बन्नेभन्दा पनि नेताहरूको स्वास्थ्य लाभ, सरकार गठनका लागि आवश्यक आधारभूत प्रक्रिया छिटो टुंग्याउने र मधेसले दिएको मतलाई कसरी सम्बोधन गर्ने भन्ने विषय आफ्नो प्राथमिकतामा रहेको उनले सुनाए।