शोकको घडीमा नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति बन्द गरौंः एमाले उपमहासचिव भट्टराई

काठमाण्डु टुडे २०८२ चैत १ गते १२:४७ मा प्रकाशित

काठमाण्डू, १ चैत– एमालेका महासचिव योगेश भट्टराईले पार्टीभित्र फैलिरहेको भ्रामक सूचना र घृणायुक्त अभिव्यक्तिप्रति चिन्ता व्यक्त गर्दै यस्तो गतिविधि बन्द गर्न अनुरोध गरेका छन ।

आज (आइतबार) सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै एमाले उपमहासचिव भट्टराइले पार्टी अध्यक्ष केपी शर्मा ओली पितृशोकमा रहेका कारण पार्टी सचिवालय बैठकको अध्यक्षता नगरेको र बैठक उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको जानकारी गराए । भट्टराईले यो समय सबैका लागि शोकको घडी भएकाले एक–अर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति गर्नु अशोभनीय हुने बताएका छन ।

उपमहासचिव भट्टराईका अनुसार पछिल्ला दिनमा पार्टीका माथिल्लो तहका केही नेताबाट आफू लगायत अन्य नेतामाथि अनर्गल लान्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना फैलाउने काम भइरहेको छ ।

उनले ‘शरू शर्मा’ नामको नक्कली फेसबुक आईडी यस्ता गतिविधिमा सक्रिय रहेको दाबी पनि गरेका छन्। भट्टराईले पार्टीको एकता जोगाउने, पार्टीलाई बहुआयामिक रूपमा रूपान्तरण गर्ने र गुमेको जनविश्वास पुनः आर्जन गर्ने काम नेकपा एमालेका लागि प्राथमिक कार्यभार भएको बताए ।

त्यसका लागि उपयुक्त समयमा उपयुक्त विधि र स्थापित प्रक्रियामार्फत तथ्य र तर्कसहित छलफल तथा बहस आवश्यक रहेको उनको भनाइ छ ।

उनले भ्रामक सूचना, गलत नियतका साथ फैलाइने सूचना र घृणाजन्य अभिव्यक्ति बन्द गर्न आग्रह गर्दै आत्मभर्त्सना नभइ गम्भीर आत्मसमीक्षा गर्नुपर्नेमा जोड समेत दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us