रास्वपाको सरकारलाई सघाउन तयार छौंः रामकुमारी

काठमाण्डु टुडे २०८२ फागुन २५ गते १६:२१ मा प्रकाशित

काठमाण्डू, २५ फागुन– राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा बन्ने आगामी सरकारलाई पूर्ण रुपमा सघाउन आफूहरू तयार रहेको बताएकी छन ।

आज (सोमबार) पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रिय सभा सदस्य झाँक्रीले यस्तो बताएकी हुन । रास्वपाका तर्फबाट बालेन्द्र शाहको नेतृत्वमा सरकार बन्ने चर्चा चलिरहेका बेला सांसद झाँक्रीले राष्ट्र र जनताको पक्षमा हुने हरेक काममा पूर्ण सहयोग गर्ने बताएकी हुन ।

उनले भनिन्, ‘सरकारका राष्ट्र र जनताको पक्षमा हुने हरप्रकारका कदमहरूमा राष्ट्रिय सभा कहाँनेर सहयोगी बन्नुपर्छ, त्यहाँ हामी सहयोगीकै भूमिका निर्वाह गर्छौं। उहाँहरूलाई काम गर्नका लागि हामीले पूरापूर सहयोग गर्छौं।’ साथै, उनले सरकारको कामकारबाहीमाथि निरन्तर खबरदारीसमेत गर्ने बताइन् ।

‘जतिबेलासम्म राष्ट्र र जनताको हितमा काम हुँदै जान्छन्, त्यतिबेलासम्म हामी सहयोगीकै रूपमा रहनेछौं। तर, सहयोगीसँगसँगै हामी एउटा ‘वाचडग’ र खबरदारीको काम पनि गर्छौं किनकि यो देश र जनताप्रति हामी पनि जिम्मेवार छौं। यो हामी सबैको साझा धर्ती हो।’

सञ्चारकर्मीले रास्वपाले दुई तिहाइ बहुमत ल्याएर संविधान संशोधनमार्फत राष्ट्रिय सभा नै खारेज गर्ने एजेन्डा अघि सारिरहेको सन्दर्भमा उनको कार्यकालको विषयलाई लिएर प्रश्न गरेका थिए । यस विषयलाई लिएर उनले यो कुनै व्यक्तिगत मामिला नभएको टिप्पणी गरेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us