काठमाण्डू, २५ फागुन– कांग्रेस नेता डा. चन्द्र भण्डारीले कांग्रेस–एमाले गठबन्धन सरकारले अपेक्षा अनुसार काम गर्न नसक्दा जनतामा असन्तुष्टि बढ्दै गएको स्विकार गरेका छन । जसले जेनजी विद्रोह जन्माएर अहिले निर्वाचन भएर पनि परिणाम पनि अनपेक्षित रूपमा आएको पनि उनले बताएका छन ।
आज (सोमबार) गुल्मी तम्घासमा निर्वाचन परिणामपछि आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस नेता भण्डारीले यस्तो बताएका हुन । उनले गठबन्धन बनेपछि पनि प्रभावकारी काम हुन नसक्दा असन्तुष्टि बढ्दै गएर विद्रोहको अवस्था सिर्जना भएको पनि बताएका छन ।
उनले यही असन्तुष्टि र विद्रोहको अवस्थाले अन्ततः देशलाई निर्वाचनतर्फ धकेलेको पनि बताएका छन । भण्डारीका अनुसार पछिल्लो समय युवापुस्तामा ‘जेनेरेसन–जेनजी विद्रोह’ देखिएको बताए ।
विदेशमा रहेका धेरै नेपाली युवाहरू पुराना राजनीतिक दलप्रति असन्तुष्ट रहेको उनको भनाइ थियो। उनले निर्वाचनमा जानुभन्दा अघि नै संविधान संशोधन गरेर राजनीतिक प्रणाली सुधार गर्नुपर्ने आवश्यकता रहेको समेत बताएका छन । उनले दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गर्नुपर्ने समेत बताएका छन ।
भण्डारीले देशको समस्यालाई रोगसँग तुलना गर्दै देशको रोग अनुसार उपचार गरेर मात्रै अगाडि बढ्न सकिने पनि बताएका छन ।
राज्यको खर्च घटाउन माननीयहरूको संख्या घटाउनुपर्ने तथा राज्य संरचनालाई पुनर्संरचना गर्नुपर्ने उनको धारणा थियो । अहिलेको संरचनाले आर्थिक व्ययभार बढाएको उनले बताए।