काठमाण्डू, २१ फागुन– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान भएको बताएका छन ।
आज (बिहिबार) हुनेलागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा अपिल जारी गर्दै उनले यस्तो महत्त्वपूर्ण अनुष्ठानमा सहभागी भएर सम्पूर्ण मतदाताले आ–आफ्नो अधिकार सुरक्षित गर्ने विश्वास व्यक्त गरेका छन ।
हरेक मतदाताले निर्वाचनमा खसाल्ने एक–एक मतले राजनीतिक व्यवस्थाको स्वरूप निर्धारण, शासन, सरकार, नीति र नेतृत्व कस्तो हुने भन्ने तय गर्ने भएकाले निर्वाचनको महत्त्वपूर्ण भूमिका रहेको कार्यवाहक आयुक्त भण्डारीले बताए ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनमा सहभागी हुनु हरेक सार्वभौम अधिकार सम्पन्न मतदाताको कर्तव्य भएको पनि बताएका छन ।