चुनाव बिथोल्नेमाथि निर्मम बल प्रयोग हुन्छः आईजीपी कार्की

काठमाण्डु टुडे २०८२ फागुन २० गते १६:५६ मा प्रकाशित

काठमाण्डू, २० फागुन– प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले भोली (बिहिबार) हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न देशभरको सुरक्षा व्यवस्था मजबुत पारिएको बताएका छन ।

निर्वाचन सुरक्षा व्यवस्थापनका विषयमा जानकारी दिँदै उनले चुनाव बिथोल्ने वा उच्छृङ्खल गतिविधि गर्ने जोकोहीमाथि कडा रूपमा बल प्रयोग गरिने चेतावनी समेत दिएका छन ।

गृह मन्त्रालयको नेतृत्वमा निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग सम्मिलित एकीकृत सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइएको कार्कीले जानकारी दिए ।

उनका अनुसार अहिले चारवटै सुरक्षा निकायले आ–आफ्नो स्थानबाट सूचना संकलन गर्ने, त्यसको विश्लेषण गर्ने र सम्भावित चुनौतीहरूको मूल्यांकन गर्दै संयुक्त रूपमा काम गरिरहेका छन् । निर्वाचन गराउन आवश्यक पर्ने सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएको र देशैभरका सबै मतदान केन्द्रहरूमा सुरक्षाकर्मी पुगिसकेको उनले बताए ।

हिमाली तथा उच्च पहाडी जिल्लाहरूको सुरक्षा र कर्मचारी व्यवस्थापनका विषयमा बोल्दै आईजीपी कार्कीले मौसम पूर्वानुमान महाशाखासँगको समन्वयमा काम भइरहेको प्रस्ट पारे। तत्कालै हिमपातको ठूलो सम्भावना नदेखिए पनि अत्यधिक चिसो हुने क्षेत्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीको स्वास्थ्य तथा बन्दोबस्तीमा विशेष ध्यान दिइएको उनको भनाइ छ।

लामो दूरी हिँडेर जानुपर्ने र चिसो बढी हुने दुर्गम स्थानहरूमा निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी पुर्याउन हेलिकप्टरको समेत व्यवस्था मिलाइएको उनले जानकारी दिए । निर्वाचनको मौन अवधिका विषयमा बोल्दै उनले यस समयमा राजनीतिक दल, उम्मेदवार र सम्बन्धित सबैले आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए ।

मौन अवधिको समयमा सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रामक सूचना फैलाउने वा आचारसंहिता विपरीतका गतिविधि गर्नेलाई तत्काल कानुनी दायरामा ल्याइने उनले चेतावनी दिए। यस्ता गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायले सूक्ष्म रूपमा निगरानी गरिरहेको र कानुन विपरीत काम गर्नेलाई एकीकृत ढंगले कारबाही अगाडि बढाइने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us